चन्द्रपुर,२८ जेठ । चन्द्रपुर नगरपालिका–६ मा अवस्थित चन्द्रपुर एकेडेमीमा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम अन्तर्गत एक महत्वपूर्ण शैक्षिक सत्र सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी ४५ मिनेट लामो ट्राफिक सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरिएको हो ।
कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरको आयोजनामा गरिएको थियो । कक्षालाई प्रहरी नायब निरीक्षक (सइ) संजिब जैसवालले सहजीकरण गर्नुभयो । कक्षामा उहाँले विद्यार्थीहरूलाई नेपालमा लागू रहेका प्रमुख ट्राफिक नियमहरू, सडकमा पैदल यात्राको सुरक्षित तरिका, सवारी चलाउँदा पालना गर्नुपर्ने प्राथमिक सुरक्षा विधिहरू तथा ट्राफिक संकेतहरूको महत्त्वबारे विस्तारमा जानकारी दिनुभयो ।
कार्यक्रमको अन्त्यमा जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरका प्रमुख ट्राफिक निरीक्षक लोकेन्द्र अधिकारीले विद्यार्थीहरूमा यस्ता जनचेतनामूलक कार्यक्रमले व्यवहारिक ज्ञान दिनुका साथै उनीहरूलाई भविष्यमा जिम्मेवार नागरिक बन्ने बाटोमा डो–याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयमै यस्ता कार्यक्रम सञ्चालन गर्नु सकारात्मक सुरुआत भएको उल्लेख गर्दै अन्य विद्यालयहरूमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । एकेडेमीका अध्यक्ष बसन्त आचार्यले ट्राफिक नियमको ज्ञान विद्यार्थी स्तरमै भएमा सवारीसाधनप्रति सचेत हुने र दुर्घटनाबाट बच्न सकिने भन्दै यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा, विद्यार्थीहरूलाई महेन्द्र राजमार्गको सडकमा लगेर व्यवहारिक अभ्यास समेत गराइएको थियो, जहाँ उनीहरूले ट्राफिक प्रहरीको प्रत्यक्ष निरीक्षणमा बाटो कसरी काट्ने, कुन साइडबाट हिँड्ने, ट्राफिक संकेतहरू पढ्ने जस्ता अभ्यास गर्ने अवसर पाए ।
कार्यक्रममा एकेडेमीका शिक्षक–शिक्षिका, ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीसहित जिल्ला ट्राफिक कार्यालयका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । विद्यार्थीहरूको सक्रिय सहभागिता र जिज्ञासाले कार्यक्रम थप प्रभावकारी बनेको आयोजक पक्षले जनाएको छ ।
चन्द्रपुर एकेडेमीले आगामी दिनहरूमा पनि यस्ता शिक्षाप्रद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।








