रौतहट,८ असार । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को पुरानो हुलाक मोड दक्षिण तर्फको भित्री सडकमा निर्माण सामाग्री अतिक्रमणका कारण दुर्घटनाको जोखिम बढेको छ । सार्वजनिक सवारी आवागमन हुने भित्री सडकमा ढुंगा, बालुवा, गिटी, छडलगायतका सामाग्री अनियमित रूपमा थुपारिएको पाइन्छ ।
स्थानीय सञ्चारकर्मी अनमोल कार्कीका अनुसार चन्द्रपुर नगर क्षेत्रका अधिकांश स्थानमा सडक किनारमा यसरी सामाग्री राख्ने प्रवृत्ति बढ्दो छ । “यस्ता कार्यले न केवल सवारी आवागमनमा अवरोध पुर्याउँछ, दुर्घटनाको जोखिम पनि उच्च बनाउँछ,” कार्कीले बताए । उनका अनुसार नगरपालिकाको ध्यान यसतर्फ नपुगेको देखिन्छ, जसले समस्या थप जटिल बनाएको छ ।
स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायलाई यस्ता अतिक्रमणकारी गतिविधिमाथि तत्काल निगरानी र नियन्त्रण गर्न आग्रह गरेका छन् । “सडक सार्वजनिक सम्पत्ति हो, यसको उपयोग सबैको लागि सहज हुनुपर्छ, तर केही व्यापारी वा निर्माणकर्ताहरूको कारणले आम सर्वसाधारण जोखिममा परेका छन्,” स्थानीय रमेश सापकोटाले भने ।
नगरपालिकाको ट्राफिक तथा प्राविधिक शाखाले यस्ता अतिक्रमण हटाउने, सचेतना कार्यक्रम सञ्चालन गर्ने र जरिवाना गर्ने खालका नीतिगत निर्णय अविलम्ब गर्नुपर्ने स्थानीयको माग छ ।
यदि यस्ता कार्यमा शीघ्र नियन्त्रण गरिएन भने दुर्घटना र ज्यानमालको क्षतिको जोखिम अझ बढ्न सक्ने चिन्ता बढ्दै गएको छ ।








