सर्लाही,२५ असार । बागमती नगरपालिका स्थित पुतली चोकमा अवैध रुपमा यौनधन्दा भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल बन्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएको छ । पुतली चोकमा मात्र नभएर सर्लाही जिल्लाको राजमार्ग आसपासका होटलहरूमा अवैध यौनधन्दा हुने गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीका प्रमुख सई सुभाष यादवकै मिलेमतोमा पुतली चोकमा खुलेका सानादेखि ठूला होटेलमा खुलेयाम यौनधन्दा हुने गरेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीका सभापति सरोज बानियाले बुधबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई सो विषयमा ज्ञापन पत्र बुझाएका हुन् ।
इलाका प्रहरी कार्यालय कमैया सर्लाहीका प्रमुख यादवकै मिलेमतोमा पुतली चोकमा खुलेका आधा दर्जन साना तथा ठूला होटेलहरूमा खुलेआम यौनधन्दा हुने गरेको स्थानीय बासिन्दा देव भण्डारीले बताए ।
इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले ती होटलसँग मासिक रूपमा रकम लिएर खुलेआम यौनधन्दा गराउन छुट दिएको भन्दै स्थानीयले त्यसको चर्को विरोध गरेका छन् ।
प्रहरी फोर्समा आफ्नो तलदेखि माथिसम्म पहुँच रहेको बताउने यादवले विभिन्न बहानामा स्थानीय व्यवसायीहरूलाई समेत दुःख दिने गरेको एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सर्लाही जिल्ला सभापति बानियाले तत्काल पुतली चोकमा हुने गरेको अवधि यौन धन्दा रोक्नुपर्ने बताउँदै त्यसको संरक्षण गर्ने इलाका प्रहरी कार्यालय कर्मैयाका सई यादवलाई समेत सो स्थानबाट तत्काल सरुवा गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीले जिल्लाका विभिन्न स्थानमा भइरहेका ट्रान्समिटर चोरी मोटरसाइकल चोरी लगायतका घटना समेत तत्काल रोक्न माग गरेको छ।








