राैतहटको चन्द्रपुर नगरपालिका–४ ले वडाभित्रका जेष्ठ नागरिक तथा अशक्त नागरिकलाई कार्ड नवीकरण गर्न सहज बनाउन निःशुल्क इ–रिक्सा सुविधाको व्यवस्था गरेको छ।

वडाध्यक्ष रबि रानाका अनुसार, वडाकार्यालयमा आवतजावत गर्न सक्ने अवस्थामा नभएका जेष्ठ तथा अशक्त नागरिकलाई यो सुविधा दिइएको हो। “हामीले सेवा लिन आउने नागरिकलाई कष्ट नहोस् भनेर यो व्यवस्था गरेका हौं,” उनले भने।

यो सुविधा भदौ मसान्तसम्म उपलब्ध हुनेछ। वडाध्यक्ष रानाले यो पहल युवापुस्ताको नेतृत्वमा सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताएका छन्।

स्थानीयवासीहरूले पनि युवा वडाध्यक्ष रानाको यो कदमको प्रशंसा गर्दै जेष्ठ र अशक्त नागरिकप्रति देखाएको संवेदनशीलतालाई सराहना गरेका छन्।