चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष निलहरी कोइराला बिहानैदेखि बेलुकी ढिलोसम्म जनताको काममै व्यस्त देखिन्छन् । वडाबासीको सामान्य समस्या पनि आफैंसँग ल्याउन सक्ने वातावरण बनेको छ । सहज, शालीन र भद्र स्वभावका कोइरालाले वडाध्यक्ष बनेदेखि नै विकासलाई प्राथमिकतामा राख्दै आएका छन् ।

उनको नेतृत्वमा वडाभरि पुल–पुलेसा, सडक, बत्ती र विद्यालय भवन निर्माणका काम सम्पन्न भएका छन् । राज पैडमा दुईतले विद्यालय भवन निर्माण, वडाभरि नै बत्ती जडान, युवालाई खेल सामग्री वितरणदेखि सामाजिक सशक्तिकरणका कामसम्म, धेरै पहल उनका नेतृत्वमा सम्पन्न भएका छन् ।

त्यसो त, वडाध्यक्ष कोइरालाको भिजन अझ ठूलो छ—आगामी दिनमा सडक ढलान, नाला निर्माण, खेलमैदान स्तर उन्नति र पानी पिच गर्ने योजनाहरू अघि बढाउने तयारीमा छन् । वडाबासीको विश्वास जितेका उनीसँग तराई एक्सप्रेसले गरेको संक्षिप्त संवाद:


तपाईं बिहानदेखि बेलुकीसम्म जनताकै काममा लागिरहनुभएको हुन्छ, यसरी निरन्तर खटिन सक्नुको रहस्य के हो ?
👉 जनताले मलाई भरोसा गरेर जिम्मेवारी दिएका छन् । त्यसैले जनतासँगै समय बिताउनु नै मेरो दायित्व हो । उनीहरूको साना–ठूला समस्या सुन्ने र तत्कालै समाधान खोज्ने क्रममा व्यस्त देखिन्छु ।

अध्यक्ष भएपछिका उपलब्धिहरूमा के–केलाई प्रमुख मान्न सकिन्छ ?
👉 विद्यालय भवन निर्माण, पुल–पुलेसा, सडक, बत्ती जडान, खेलकुद क्षेत्रमा युवालाई प्रोत्साहन, यी सबै काम सम्पन्न भएका छन् । विशेष गरी राज पैडको दुईतले विद्यालय भवन निर्माण हाम्रो प्रमुख उपलब्धि हो ।

सामाजिक क्षेत्रमा पनि केही काम गर्नुभएको छ भन्ने सुन्न पाइन्छ, के स्पष्ट पार्नुहुन्छ ?
👉 हो, युवालाई खेल सामग्री वितरण गरेर प्रोत्साहन गरेका छौँ । उनीहरूलाई सकारात्मक बाटोमा अघि बढाउनुपर्छ भन्ने सोच हो । युवा सशक्तिकरणका विभिन्न पहलहरू पनि गरेका छौँ ।

अबका दिनमा तपाईँले प्राथमिकतामा राख्नुभएको योजना के–के छन् ?
👉 ३०० मिटर सडक ढलान गर्नेछौँ । भेटेनरी अस्पतालदेखि शम्भु अधिकारीको घरसम्म सडक ढलान हुनेछ । वडाभरि नाला निर्माण गर्नेछौँ । कतिपय सडकमा पानी पिच गर्ने योजना छ । साथै, सुन्दर बस्तीमा खेलमैदान स्तर उन्नति गर्नेछौँ ।

वडाबासीको प्रतिक्रिया कस्तो छ ?
👉 वडाबासीले मप्रति विश्वास र सहयोग देखाइरहनुभएको छ । उनीहरूको माया नै मेरो प्रेरणा हो । सकारात्मक प्रतिक्रिया पाएपछि अझै जोशका साथ काम गर्न प्रोत्साहन मिलेको छ ।

अन्त्यमा, वडाबासीलाई के भन्न चाहनुहुन्छ ?
👉 मेरो उद्देश्य जनताको हित र वडाको समग्र विकास हो । वडाबासीको साथ, माया र सहयोगकै कारण अहिलेसम्मका काम सम्भव भएका छन् । भविष्यमा पनि निरन्तर सेवा गर्ने वचन दिन्छु ।