रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–३ मा रहेको चाँदी नदीमा बाढीले बगाएको डाइभर्सनको पुनर्निर्माण कार्य सुरु गरिएको छ। बाढीका कारण केही दिनदेखि सो क्षेत्रमा आवागमनमा समस्या भएपछि स्थानीय बासिन्दा जोखिम मोलेर नदी तथा निर्माणाधीन पुलमार्फत आवत–जावत गर्न बाध्य भएका थिए।

वडाध्यक्ष बोधनाथ देवकोटाका अनुसार डाइभर्सन मर्मत तथा पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ र आज साँझसम्म सम्पन्न गर्ने तयारी गरिएको छ। उनका अनुसार वर्षाको समयमा नदीमा पानी बढ्दा अस्थायी डाइभर्सन बगाएको थियो, जसले गर्दा चन्द्रपुर–३ र ४ जोड्ने बाटो अवरुद्ध भएको थियो।

“स्थानीयको असुविधा र जोखिमलाई ध्यानमा राख्दै कामलाई प्राथमिकताका साथ अघि बढाएका छौं,” वडाध्यक्ष देवकोटाले भने, “यदि मौसमले साथ दियो भने आज साँझसम्म यातायात सुचारु हुनेछ।”

हाल स्थानीयवासी, मजदुर र निर्माण टोली मिलेर डाइभर्सन पुनःस्थापना कार्यमा जुटेका छन्। पुल निर्माणाधीन भएकाले डाइभर्सन पूर्ण रूपमा सञ्चालनमा आउँदासम्म सावधानी अपनाउन वडापक्षले आग्रह गरेको छ।