रौतहट, २२ असोज । भारतले आफ्नो बाँधको सुलिस गेट (ढोका) नखोलेको कारण रौतहटको गौर नगरपालिका र आसपासका क्षेत्रमा चार दिनदेखि पानी जमेको छ। लगातारको पानी र निकास नहुँदा गौर बजारका सडक, घर र कार्यालयहरू जलमग्न भएका छन्।
स्थानीयवासीका अनुसार भारतले सीमावर्ती बाँधको गेट बन्द गरेर पानी रोक्दा बागमती नदीको पानी फर्केर गौर क्षेत्रमा पस्न थालेको हो। यसले गर्दा दैनिक जीवन अस्तव्यस्त बनेको छ। विद्यालयदेखि स्वास्थ्य संस्थासम्म प्रभावित भएका छन् भने सवारी आवागमन समेत ठप्प छ।
गौरका मेयरले समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए पनि स्थानीयवासीले पर्याप्त पहल नभएको गुनासो गरेका छन्। उनीहरूले भने, “भारतले गेट नखोलेका कारण गाउँ डुबिरहेको छ, तर नगरपालिकाले ठोस कदम चालेको देखिँदैन।”
यता, जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले सीमावर्ती बाँधहरूमा पानीको सतह अझै उच्च रहेको बताउँदै भारतले ढोका खोलेमा पानीको निकास सहज हुने बताएका छन्।
चार दिनदेखि डुबानमा परेका स्थानीयहरू राहत र शीघ्र समाधानको प्रतीक्षामा छन्।








