रौतहट — रौतहटको सिर्सियादेखि गौरसम्म पुग्ने मुख्य सडक खण्ड अहिले फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ। दैनिक रुपमा निस्किने फोहोरहरू व्यवस्थापन नहुँदा सडकको दायाँ–बायाँ ढिस्काजस्तो गरी फालिँदै आएको छ, जसले स्थानीय बासिन्दा र सवारी चालक दुवैलाई समस्या पुर्‍याएको छ।

स्थानीय पत्रकार धर्मेन्द्र साहका अनुसार गौर नगरपालिकाले फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा समस्या चर्किँदै गएको हो। उनले आफ्नो फेसबुकमार्फत सडकमा दिनहुँ फोहोर थुप्रिँदै गएको दृश्य सार्वजनिक गर्दै सरोकारवाला निकायको तर्फ ध्यानाकर्षण गराएका छन्।

“सडकको दुबै किनारमा फोहोर फालिँदै जानु र दुर्गन्ध फैलिनु सामान्य जस्तै भएको छ। नगरपालिकाले यो अवस्थाप्रति कुनै गम्भीरता देखाएको छैन,” पत्रकार साहले भनेका छन्।

स्थानीयवासीले पनि यस्तै गुनासो गरेका छन्। उनीहरूले नियमित सरसफाइका लागि फोहोर संकलन गर्ने व्यवस्था मिलाउन र शहरको सौन्दर्य जोगाउन तत्काल कदम चाल्न नगरपालिकासँग माग गरेका छन्।

गौर नगरपालिका भने फोहोर व्यवस्थापनको समस्या समाधानका लागि योजना बनाइरहेको बताइन्छ, तर स्थानीयले तत्काल प्रभावकारी कदमको अपेक्षा गरेका छन्।