रौतहट, — तिहार र छठ पर्वलाई लक्षित गर्दै रौतहटको चन्द्रपुर क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चन्द्रपुर नगर बजार क्षेत्रदेखि ग्रामीण वस्तीहरूसम्म गस्ती तथा पेट्रोलिङ अभियान सञ्चालन गरेको हो।
पर्वको भीडभाड र व्यापारिक चहलपहल बढ्ने समयमा हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी र लुटपाटजस्ता अपराधजन्य गतिविधि रोकथाम गर्ने उद्देश्यले गस्ती टोली सक्रिय रूपमा खटिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालयका प्रमुखका अनुसार, स्थानीयबासीलाई सुरक्षाबारे सचेत रहन, शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तुरुन्तै नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।
सुरक्षा निकायले चाडपर्व सुरक्षित र शान्त वातावरणमा मनाउन सबै नागरिकसँग सहयोगको अपेक्षा गरेको छ।








