रौतहट, ५कार्तिक — रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक पूर्व–पश्चिम लोकमार्गमा बुधबार बिहान यात्रुवाहक बसमा भीषण आगलागी भएको छ ।
काठमाण्डौबाट चपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे अचानक ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा टोली खटिएको थियो । स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो करिब ८ः१५ बजे नियन्त्रणमा ल्याइएको थियो ।
आगोले बस पूर्णरूपमा जलेर नष्ट भएको र करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटना कुनै मानवीय क्षति भने भएको छैन ।
प्रहरीका अनुसार, घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब तीन किलोमिटर पश्चिमतर्फ पर्दछ । आगलागीका कारण केही समय सडकमै सवारी आवागमन प्रभावित भए पनि अहिले बाटो खुलेको र आवागमन सहज भएको जनाइएको छ ।








