रौतहटको चन्द्रनिगाहपुरमा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम निरन्तरता स्वरूप यस वर्ष पनि भाइटिकाको अघिल्लो दिन सम्पन्न गरिएको हो।
२०७२ सालदेखि हरेक वर्ष देउसी–भैलो कार्यक्रम गर्दै आएको नागरिक समाज चन्द्रनिगाहपुरका अगुवा महारत्न बिष्टका अनुसार यस्ता कार्यक्रमले स्थानीय परम्परा, कला र संस्कृतिलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनका अनुसार आधुनिकतासँगै हराउँदै गएको परम्परागत संस्कृतिलाई पुनः जीवित राख्ने प्रयासका रूपमा यो कार्यक्रम गरिएको हो।
कार्यक्रममा ढाका टोपी र गम्छा लगाएर स्वतःस्फूर्त रूपमा सहभागी भएका स्थानीय युवादेखि वृद्धसम्मले देउसी भट्याउँदै, नाचगान गर्दै रमाइलो माहोल सिर्जना गरेका थिए। नागरिक समाजका अर्का अगुवा बिमल भट्टराईले यस्ता सांस्कृतिक गतिविधिले समुदायबीच एकता, आपसी सद्भाव र पहिचान बलियो बनाउने बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नं. ४ का पूर्व संघीय सांसद देवप्रसाद तिमल्सिनासहित स्थानीय बुद्धिजीवी, समाजसेवी र युवा वर्गको उल्लेख्य सहभागिता रहेको थियो।
चन्द्रनिगाहपुरवासीले आफ्नो मौलिक संस्कृतिलाई सम्मान र निरन्तरता दिँदै आएको यो देउसी–भैलो कार्यक्रम स्थानीय स्तरमा कला, संस्कृतिको संरक्षण र सामुदायिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।








