रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा चन्द्रनिगाहपुर नगरपालिका–८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र कटहरिया नगरपालिका–५, बलिरामपुर टोलका ४९ वर्षीय परमानन्द महतो (प्रेम महतो) रहेका छन्।

ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको टोलीले आइतबार राति करिब साढे ८ बजेतिर दुवै जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरू मधेस प्रदेश ०५–००१ प ०३९१बीआर ०६ सीएन ८८५२ नम्बरका दुई मोटरसाइकलमा आएका थिए। उनीहरू विजयपुर चोकमा स्थानीयहरूसँग सवारी बिक्रीको विषयमा कुरा गर्दै गर्दा शङ्का लागेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो र विजयपुर चोकबाट करिब १०० मिटर पूर्व रमेश भट्टराईको घर नजिकै दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ।

रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरमा राखी थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।