रौतहट,२७ मंसिर ।आगामी मङ्सिरमा हुन सक्ने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस रौतहटले औपचारिक रुपमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। अन्य पार्टीहरू अझै प्रारम्भिक छलफलमै सीमित रहेको अवस्थामा कांग्रेसले जिल्ला–क्षेत्राधिकारका संरचनामार्फत संगठित ढङ्गले सिफारिस पठाउन थालेको हो।

नेपाली कांग्रेस क्षेत्र नं. ४ को क्षेत्रीय भेलाले देवप्रसाद तिमल्सिनालाई पहिलो नम्बरमा सिफारिस गरेको छ। तिमल्सिना यस क्षेत्रको स्थापित नाम हो र पार्टी कार्यकर्ताको निरन्तर विश्वास पनि उनीमै केन्द्रित देखिएको छ।
कार्यकर्ताहरूको भनाइअनुसार, विगतमा तिमल्सिनाले जित्दै आएको सिटमा अनावश्यक रूपमा नयाँ अनुहार परीक्षण गर्दा जोखिम बढ्न सक्ने भएकाले क्षेत्रीय भेलाले ‘पहिलो नाम तिमल्सिनाकै’ भन्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो।

यही क्षेत्रबाट दोस्रो नम्बरमा युवा नेता रविनचन्द्र कोइरालाको नाम सिफारिस गरिएको छ। संगठनभित्र सक्रियता, युवामैत्री छवि तथा पार्टी विस्तारमा कोइरालाको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै क्षेत्रीय समिति-४ ले उनको नाम केन्द्रमा पठाएको बताइएको छ।

रौतहट क्षेत्र नम्बर २ को क्षेत्रीय भेलाले फिर्दोष आलमलाई सर्वसम्मत रूपमा पहिलो उम्मेदवारका रूपमा सिफारिस गरेको छ। उनी पूर्वमन्त्री तथा प्रभावशाली नेता अफताब आलमका छोरा हुन्।
क्षेत्रीय समिति–२ ले लामो छलफलपछि “स्थानीय आधार, प्रभाव, जनसञ्जाल तथा राजनीतिक पृष्ठभूमिका कारण” फिर्दोष नै सशक्त उम्मेदवार बन्न सक्ने निष्कर्ष निकालेको हो।

नेपाली कांग्रेस रौतहटले आगामी निर्वाचन नहट्ने अड्कलपछि समयमै तयारी थालेको छ। पार्टीले जिल्लाका सबै चार क्षेत्रबाट पहिलो, दोस्रो र तेस्रो प्राथमिकताका नामहरू केन्द्रमा पठाउने निर्णय गरिसकेको छ।
अन्य दलहरू भने अहिलेसम्म औपचारिक रूपमा सिफारिस प्रक्रियामा उत्रिएका छैनन्। यसैले कांग्रेसको यो अग्रसरतालाई ‘चुनावी तयारीको स्पष्ट संकेत’ को रूपमा अर्थ्याइएको छ।
एमालेले आधिकारिक नाम टुंगो लगाएको छैन, तर पार्टी स्रोतहरूबाट आएका सूचनाअनुसार—
रौतहट–४ मा चर्चित युवा नेता बाबुराम दाहाल चुनावी मैदानमा उत्रन सक्ने सम्भावना उच्च रहेको छ। रौतहट–१ मा अजयकुमार गुप्ता,
रौतहट–३ मा कुन्दन कुशवाहा पार्टी भित्रबाट सशक्त दाबेदारका रूपमा देखिएका छन्।

तर रौतहट–२ मा एमालेलाई ‘उम्मेदवार टुंगो’ गर्न चुनौतीपूर्ण देखिएको छ। स्थानीय नेतृत्वबीच सहमति नजुटेको र केन्द्रमा पनि अन्तिम निर्णय नआएको कारण क्षेत्र–२ मा एमालेका सम्भावित उम्मेदवारबारे अहिलेसम्म कुनै स्पष्ट संकेत देखिएको छैन।
कांग्रेसको तीव्र सक्रियता र एमालेभित्र सुरु हुन लागेको प्रतिस्पर्धाले रौतहटको राजनीतिक तापक्रम चर्किँदै गएको छ।
विशेषगरी क्षेत्र नं. ४ र २ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान राजनीतिक विश्लेषकहरूले गरिरहेका छन्।
मङ्सिरमै निर्वाचन हुने विश्वास अधिक भएपछि दुवै प्रमुख दलले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र सम्भावित उम्मेदवारको आधार परीक्षण गर्न व्यापक रूपमा गतिविधि बढाएका छन् ।

रौतहटका विभिन्न क्षेत्रका स्थानीय बासिन्दा आगामी निर्वाचनमा ‘नयाँ र पुराना अनुहार’ को प्रतिस्पर्धा कस्तो हुने हो भन्ने उत्सुकतापूर्वक हेरिरहेका छन्।
कांग्रेस र एमालेलाई केन्द्रमा राखेर हुने प्रतिस्पर्धाले यी क्षेत्रका जनतामा चुनावी वातावरण गरम बन्दै गएको छ।