मंसिर २७, रौतहट ।
अर्काकी श्रीमती भगाई यौन शोषण गरेको आरोपमा पक्राउ परेका वडा सदस्यलाई धरौटीमा रिहा गरिएको घटनाप्रति राष्ट्रिय तत्मा समाज नेपाल, रौतहटले गम्भीर आपत्ति जनाएको छ। समाजले एक महिनाभित्र पीडितलाई न्याय नदिइए अदालत जान बाध्य हुने चेतावनी दिएको छ।

जिल्ला प्रशासन कार्यालय, रौतहटले कटहरिया नगरपालिका–१ भसेढवाका वडा सदस्य सतलाल दासलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेपछि उक्त निर्णयप्रति राष्ट्रिय तत्मा समाजको गम्भीर ध्यानाकर्षण भएको हो।

सतलाल दासमाथि तीन सन्तानकी आमा तथा भसेढवाकी सुष्मिता दासलाई भगाई करिब नौ महिनासम्म यौन शोषण गरेको आरोप छ। पीडित सुष्मिता विवाहित महिला हुन् भने अभियुक्त दास स्वयं पनि विवाहित व्यक्ति हुन्।

नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित सतलाल दासले सुष्मिताका श्रीमान वैदेशिक रोजगारीमा रहेको मौका छोपी झुटो प्रेमको नाटक गर्दै भगाएको पीडित परिवारको आरोप छ। भगाएपछि दासले बाराको निजगढमा कोठा भाडामा लिएर सुष्मितालाई राखी लामो समयसम्म लुकिछिपी सँगै बसेको खुलेको छ।

उनीहरूले आफूहरू श्रीमान–श्रीमती भएको भन्दै घरबेटीलाई समेत झुक्याई करिब नौ महिनासम्म एउटै कोठामा बसेको तथ्य पछि सार्वजनिक भएको हो। सुष्मिताकी सासु घुनिया देवीले खोजी गर्दै निजगढ पुगेर दुवैलाई सँगै बसेको अवस्थामा फेला पारी निजगढ प्रहरीलाई जानकारी गराएकी थिइन्।

निजगढ प्रहरीले दुवै जनालाई पक्राउ गरी रौतहटको गरुडा प्रहरीलाई बुझाए पनि गरुडा प्रहरीले मुद्दा दर्ता गरी कानुनी कारबाही गर्नुको सट्टा राजनीतिक दबाब र पहुँचका आधारमा मिलापत्र गराउँदै जिम्मा जमानीमा छाडेको आरोप लागेको छ।

घटनापछि दलित समुदायका अगुवाहरू आक्रोशित बनेर जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला प्रशासन कार्यालय गौर घेराउ गरेपछि मात्र रौतहट प्रहरीले सतलाल दासलाई पक्राउ गर्न बाध्य भएको बताइएको छ।

राष्ट्रिय तत्मा समाज नेपाल, रौतहटका अध्यक्ष रामबाबु दास तथा राष्ट्रिय तत्मा समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष, मधेश प्रदेश दलित विकास समितिका पूर्व सदस्य एवं जसपा नेपालका नेता राजकुमार दासको नेतृत्वमा करिब चार सय दलित अगुवाहरू आन्दोलनमा उत्रिएका थिए।

पीडित परिवार तथा तत्मा समाजले सतलाल दासमाथि बहुविवाह, ठगी तथा यौन शोषणजस्ता गम्भीर मुद्दा दर्ता गर्न माग गरे पनि जिल्ला प्रहरी कार्यालय रौतहटले सामान्य ‘दुर्व्यवहार’को मुद्दा मात्र दर्ता गरेको भन्दै आपत्ति जनाइएको छ।

२४ दिन थुनामा बसेपछि चार दिनअघि मात्रै सतलाल दास २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

पीडित परिवारका अनुसार सुष्मितालाई विवाहकै बेला माइती पक्षले करोडौँ मूल्य बराबरको चार कठ्ठा जग्गा दिएको थियो भने ससुराली पक्षबाट गरगहना समेत प्रदान गरिएको थियो। साथै, उनका श्रीमानले वैदेशिक रोजगारीबाट १२ लाख रुपैयाँ सुष्मिताको नाममा पठाएको र ती सबै सम्पत्ति सुष्मिताकै नाममा रहेको दाबी गरिएको छ।

सतलाल दासले प्रेमको नाटक गरी सुष्मिताको नाममा रहेको जग्गा, गरगहना र लाखौँ रुपैयाँ ठगी गर्ने उद्देश्य राखेको पीडित परिवार तथा राष्ट्रिय तत्मा समाजको ठहर छ।

पीडित परिवार र तत्मा समाजले सुष्मिताको नाममा रहेको सम्पूर्ण जग्गा, नगद रकम र गरगहना ससुराली पक्षलाई फिर्ता गराउन तथा सतलाल दासमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

रौतहट प्रहरी र प्रशासनलाई एक महिनाभित्र निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन अल्टिमेटम दिइएको छ। तोकिएको अवधिभित्र कडा कारबाही नगरे र पीडित परिवारलाई सम्पत्ति फिर्ता नगराए घुनिया देवीको न्यायका लागि अदालत जाने बाध्यता हुने राष्ट्रिय तत्मा समाज नेपाल, रौतहटले स्पष्ट चेतावनी दिएको छ।