बारा,४ पुस ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट बारा जिल्लाबाट आठ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचित हुनेमा एमालेका पूर्व पोलिटब्युरो सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, कृष्णकुमार श्रेष्ठ ‘किशन’ र ज्वाला साहसहित आठ जना रहेका छन्।
अन्य निर्वाचित केन्द्रीय सदस्यहरूमा एकबाल मियाँ, बलबीर चौधरी, महमद समीर, मोमिन आलम र सीता सुबेदी छन्। निर्वाचित सबै उम्मेदवार अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए।
उता अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका एमाले नेता, पूर्व पोलिटब्युरो सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलसहित केन्द्रीय सदस्यका उम्मेदवार बाराकी दुर्गा कुमारी कोइराला, चयन गुरुङ र दसरथ राम पराजित भएका छन्।
यसैगरी केन्द्रीय लेखा आयोग सदस्य पदमा उम्मेदवारी दिएकी टिना सुवेदी मैनाली र अनुशासन आयोग सदस्य पदमा उम्मेदवारी दिएकी कमला घिमिरेले पनि हार व्यहोर्नुपरेको छ। टिना सुवेदी मैनाली एमालेका पूर्व पोलिटब्युरो सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य अच्युत मैनालीकी श्रीमती हुन्। श्रीमान केन्द्रीय सदस्यमा निर्वाचित हुँदा श्रीमती भने पराजित भएकी हुन्।
एमाले केन्द्रीय कमिटी निर्वाचनमा बाराबाट एक पदाधिकारीसहित १४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए।








