रौतहट,१५ पुस । आज बिहान साढे सात बजेबाट अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । रक्सोलबाट धनुषा जिल्लातर्फ ग्याँस लिएर जाँदै गरेको ग्यास ट्याङ्की राजमार्गमा पल्टिएपछि बिहानैबाट राजमार्ग अवरुद्ध भएको थियो । भारतीय नम्बर प्लेटको क्यास ट्याङ्कर पल्टिएर राजमार्ग अवरुद्ध भएपछि खुलाउने प्रयास भएपनि अहिलेसम्म खुल्न सकेको छैन । दिउँसो छवटा क्रेनको सहायताले दुर्घटनाग्रस्त ट्याङ्कर उठाउने प्रयास भएपनि त्यो असफल भएको छ । ट्याङ्कीबाट ग्यास लिक भइरहेका कारण विस्फोटको खतरा बढेपछि राजमार्ग खुल्न नसकेको हो । हाइ टेन्सनको लाइन काटेर पुन एकपटक ग्यास ट्याङ्की राजमार्गबाट हटाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरकी डिएसपी रुपा लाबुङले जानकारी दिएकी छिन्।