काठमाडौं,३ माघ ।
नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोग गगन थापातर्फ झुकेको संकेत देखिएपछि विकसित राजनीतिक परिस्थितिबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चुनाव सार्ने विषयमा फोन संवाद भएको छ।
एमाले स्रोतका अनुसार हिजो राति नै ओलीले चितवनमा रहनुभएका प्रचण्डलाई फोन गरी हालको अवस्थामा निर्वाचन सम्पन्न गर्न कठिन हुने निष्कर्षसहित नयाँ मिति तोक्ने वातावरण बनाउन मिलेर अघि बढ्न प्रस्ताव गर्नुभएको हो।
स्रोतका अनुसार नेपाली कांग्रेसको विवाद भोलिदेखि अदालतमा प्रवेश पाउने अवस्था, चिसो मौसमका कारण २२ वटा हिमाली जिल्लामा फागुन २१ गते निर्वाचन गराउन व्यवहारिक कठिनाइ, साथै निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मिति तोक्नुपर्ने संवैधानिक प्रक्रियालाई बेवास्ता गर्दै भदौ २७ गते राष्ट्रपति कार्यालयबाट क्याबिनेट नै गठन नभइसकेको अवस्थामा गरिएको चुनाव घोषणाले कानुनी जटिलता थपिएको निष्कर्ष निकालिएको छ।
त्यसमाथि, सो निर्वाचन मितिविरुद्ध कानुनी चुनौती परेमा अदालतले त्यसलाई गम्भीरतापूर्वक लिन सक्ने सम्भावनाबारे पनि ओली–प्रचण्डबीच छलफल भएको बताइएको छ।
राजनीतिक दलहरूबीच सहमति नजुटे निर्वाचनको मिति परिवर्तन अनिवार्य बन्न सक्ने संकेत देखिन थालेको छ भने पछिल्ला घटनाक्रमले आगामी चुनाव थप अनिश्चिततातर्फ धकेलिएको राजनीतिक वृत्तको विश्लेषण छ।