रौतहट, ७ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौर, रौतहटमा औपचारिक उजुरी दर्ता गराएका छन्।
राम नरेश यादवका अनुसार पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ, जुन मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ।
अख्तियारले गत जेठ महिनामा उक्त प्रकरणमा भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेसँगै माधव कुमार नेपालको प्रतिनिधि सभा सदस्य पद निलम्बन भएको थियो। निलम्बनकै अवस्थामा उनी पुनः प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेको भन्दै यादवले कानुनी आपत्ति जनाएका हुन्।
उजुरीमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ को उल्लेख गरिएको छ। ती कानुनी प्रावधानअनुसार भ्रष्टाचार मुद्दा दायर भई निलम्बित अवस्थामा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था रहेको यादवको दाबी छ। सोही आधारमा माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित उजुरी दर्ता गराइएको उनले बताएका छन्।
माधव कुमार नेपाल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। तर भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन अवस्थामा नै रहँदा उनले पुनः यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। हिजो उनले नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रौतहट क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएका हुन्।
उक्त उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालय गौरले आवश्यक कानुनी प्रक्रिया अनुसार उजुरीको अध्ययन गरी कानूनबमोजिम निर्णय गरिने जनाएको छ। यस घटनाले रौतहट क्षेत्र नं. १ को चुनावी माहोल थप चर्किने संकेत देखिएको छ।