नेकपा एमाले रौतहट क्षेत्र नम्बर ४ बाट संघीय सांसदका उम्मेदवार रामजी शाहले आफू चुनावमा विजयी भए श्रीराम सुगर मिल सञ्चालनमा ल्याउन ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। किसानमुखी एजेन्डालाई आफ्नो चुनावी प्राथमिकतामा राखेका शाहले लामो समयदेखि बन्द अवस्थामा रहेको श्रीराम सुगर मिल सञ्चालनमा आए किसानको जीवनस्तरमा उल्लेखनीय सुधार आउने बताएका हुन्।
शाहका अनुसार श्रीराम सुगर मिल बन्द रहँदा रौतहट मात्र होइन, छिमेकी जिल्लाका हजारौँ किसान प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्। उखु बिक्री गर्न नपाएर किसानहरू आर्थिक संकटमा परेका छन् भने उत्पादन लागत समेत उठाउन नसक्ने अवस्था सिर्जना भएको छ। “किसानको पसिनाको मूल्य दिलाउनु मेरो पहिलो दायित्व हुनेछ,” उनले भने।
चुनावी अभियानका क्रममा शाहले आफू निर्वाचित भए संघीय सरकार, सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायसँग समन्वय गरी सुगर मिल सञ्चालनको वातावरण बनाउने दाबी गरेका छन्। सुगर मिल सञ्चालनमा आए रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र चलायमान हुने उनको विश्वास छ।
त्यसैगरी, किसानले भोग्दै आएका मलखाद अभाव, उत्पादन लागत वृद्धिजस्ता समस्याको समाधानका लागि पनि आफूले सक्रिय भूमिका खेल्ने शाहको भनाइ छ। “सहज र सुलभ रूपमा मलखाद उपलब्ध गराउन नसक्दा किसान निराश छन्, यो अवस्थाको अन्त्य गरिन्छ,” उनले बताए।
व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका शाहले उद्योगी तथा व्यापारीका समस्या समाधान गर्न समेत आफू सक्षम रहेको दाबी गरेका छन्। उद्योग–व्यवसायमैत्री वातावरण निर्माण गरी रौतहटको आर्थिक विकासमा योगदान दिने उनको योजना रहेको छ।
अन्त्यमा, जनताको भावना र आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै शाहले किसान, मजदुर, उद्योगी तथा सर्वसाधारण सबैलाई आगामी निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरेका छन्। रौतहट क्षेत्र नम्बर ४ को समग्र विकासका लागि आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने शाहको दाबी छ।








