रौतहट, ९ माघ ९— रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ स्थित पथरा स्कुल नजिक शुक्रबार मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मिति २०८२/१०/०९ गते अन्दाजी ११ः४० बजेको समयमा गौर–पिपरा भित्री सडकखण्डमा गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको BR30AF 2370 नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परि दुवै मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर, रौतहट पठाइएकोमा चिकित्सकले दिउँसो १२ः०० बजे दुवै जनालाई मृत घोषणा गरेका थिएफ।
मृत्यु हुनेमा प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका–२, पिपरा बजार निवासी अन्दाजी ३० वर्षका अशोक महतो र BR30AF 2370 नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका–२, हजमिनिया निवासी राजेन्द्र महतोका छोरा अन्दाजी २९ वर्षका अरबिन्द महतो रहेका छन् ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








