वीरगञ्ज, २३ माघ
सामाजिक सञ्जालमा राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सा प्रहरीले एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर आन्तरिक अनुसन्धान अघि बढाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियानसम्बन्धी सामग्रीहरू सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्दै आएको भन्दै प्रहरी हवल्दार श्यामनारायण पटेललाई केही घण्टा अघि नेशनल मेडिकल कलेज परिसरबाट पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार हवल्दार पटेलले पछिल्ला केही दिनयता आफ्ना सामाजिक सञ्जाल खाताहरूमा पार्टीका गतिविधि र घोषणापत्रबारे पोस्ट, टिप्पणी तथा समर्थनजन्य अभिव्यक्ति राख्दै आएका थिए। प्रहरी संगठनका सदस्यले तटस्थता त्यागेर कुनै दलको प्रत्यक्ष वा परोक्ष प्रचार गर्नु प्रहरी ऐन तथा नियमावलीविपरीत हुने भएकाले उनलाई तत्काल नियन्त्रणमा लिएर बयान संकलन तथा तथ्य पुष्टि गर्ने प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतको भनाइ छ।
“प्रहरी संगठनको अनुशासन, आचरण र राजनीतिक तटस्थता उल्लङ्घन गर्ने गतिविधि गम्भीर मानिन्छ,” उनले भने, “यसकै आधारमा उनलाई विभागीय अनुसन्धानका लागि नियन्त्रणमा राखिएको हो।”
हवल्दार पटेल पर्सा जिल्ला प्रहरी कार्यालयअन्तर्गत नै कार्यरत रहेकाले मुद्दा थप संवेदनशील बनेको बताइएको छ। आन्तरिक छानबिनमा उनको पोस्ट, टिप्पणी तथा बाह्य सम्पर्कबारे समेत जाँच भइरहेको प्रहरी स्रोतले जनायो।
प्रहरी ऐन तथा नियमावलीमा प्रहरी कर्मचारीले कुनै दलको प्रचार–प्रसार गर्न नपाइने, अभिव्यक्तिमा तटस्थता कायम गर्नुपर्ने, राजनीतिक संलग्नता देखिएमा कडाभन्दा कडा कारबाही हुनसक्ने स्पष्ट उल्लेख छ।
यस घटनाले सामाजिक सञ्जाल प्रयोगमा प्रहरी सदस्यहरूको जिम्मेवारी, मर्यादा र राजनीतिक तटस्थतासम्बन्धी बहस फेरि एकपटक सतहमा आएको छ।








