गरुडा, ८ फागुन — इलाका प्रहरी कार्यालय गरुडाको अगाडि आज बिहान निर्वाचनका लागि खटिएका प्रहरीहरूले आकस्मिक रूपमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले बिना कुनै पूर्व–सूचना आफूहरूले पाउनुपर्ने ६ हजार १ सय ७० रुपैयाँ बराबरको चेक कार्यालयले मागेर लगेपछि विवाद सुरु भएको हो।
विरोधमा सहभागी एक प्रहरीका अनुसार कार्यालयले कुनै आधिकारिक जानकारी, निर्देशन वा लिखित सूचना नदिई सादा चेक बुझाउन लगाएको आरोप छ।
उनले भने, “हामीलाई न त जानकारी दिइयो, न कुनै पत्र। अचानक चेक मागेर लगियो, किन भनेर पनि खुलाइएन।”
उक्त विवाद चर्किन थालेपछि इलाका प्रहरी कार्यालय गरुडा मा कार्यरत प्रहरी निरीक्षक रोहित शर्मा स्वयं प्रदर्शनस्थल पुगे। उनले असन्तुष्ट प्रहरीहरूलाई शान्त रहन आग्रह गर्दै प्रक्रियागत विषय हुन्, अनावश्यक हल्ला नगर्न तथा छलफलमार्फत समाधान खोजिने आश्वासन दिएका थिए।
विवादको विषय के थियो र किन निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई बिना पूर्वसूचना चेक बुझाउन लगाइयो भन्ने बारे कार्यालयले आधिकारिक प्रतिक्रिया नदिएकाले घटना थप अस्पष्ट बनेको छ।
यस घटनाले निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीहरूबीच समन्वय, सूचना प्रवाह र प्रशासनिक पारदर्शिताबारे प्रश्न उठाएको स्थानीयहरूले बताएका छन्। गरुडा क्षेत्रमा अहिले स्थिति सामान्य बनेको तर प्रहरीहरू आन्तरिक असन्तुष्टिमा रहेको स्रोतले जनाएको छ।