कटहरिया,८ फागुन ।
रौतहट क्षेत्र नं.–३ का प्रतिनिधि सभा उम्मेदवार कुन्दन प्रसाद कुश्वाहा ले आज देवाही गोनाही नगरपालिका अन्तर्गतको उचिड क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रमा प्राथमिकताका मुद्दा तथा आफ्नो योजनाबारे विस्तृत रूपमा जानकारी गराए।
विकास–निर्माण, रोजगारी र सेवा प्रवाह सुधार प्रमुख प्राथमिकता
घरतहि अभियानका क्रममा कुश्वाहाले रौतहट क्षेत्र नं.–३ को दीर्घकालीन विकास, बेरोजगारी समस्याको समाधान, मूलभूत पूर्वाधारको विस्तार, कृषि–सिंचाइ तथा बाढी नियन्त्रण, गुणस्तरीय शिक्षा–स्वास्थ्य लगायतका विषयलाई आफ्नो मुख्य एजेन्डा रहेको बताए।
उनका अनुसार दीर्घकालीन योजनाका साथ स्थानीय आवश्यकताका आधारमा छोटो समयमै प्रभावकारी काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
मतदाताको उत्साह बढ्दो, समर्थन प्राप्त भइरहेको दाबी
उम्मेदवार कुश्वाहाको टोली उचिड पुगेपछि स्थानीय बासिन्दाले स्वागत गरेको बताइएको छ। मतदाताहरू परिवर्तन र विकासका पक्षमा उत्साहित देखिएको भन्दै कुश्वाहाले आफूलाई समर्थन गर्न मतदाताहरू आतुर रहेको दाबी गरे।
उनले जनताको भरोसा र अपेक्षालाई पूर्णता दिन आफू निष्पक्ष, पारदर्शी र जवाबदेही ढंगबाट काम गर्ने प्रतिवद्धता जनाए।
स्थानीय समस्या प्रत्यक्ष सुन्ने प्रयास
घरदैलोका क्रममा स्थानीयले सडक, खानेपानी, स्वास्थ्य चौकी सुदृढीकरण, बाढीबाट हुने बारम्बारका क्षति, युवाहरूका लागि रोजगारीको अभावजस्ता समस्या राखे। कुश्वाहाले ती समस्यालाई टिपोट गरी समाधानका लागि योजनाबद्ध ढंगले अघि बढ्ने बताए।
शान्तिपूर्ण, निष्पक्ष निर्वाचनको अपेक्षा
कुश्वाहाले आगामी निर्वाचन सबैका लागि शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न हुनुपर्ने बताउँदै जनताले निर्भीक रूपमा मतदान गर्ने वातावरण बनाउन सम्बद्ध निकायलाई ध्यानाकर्षण गराए।








