रौतहट ७ फागुन। सर्लाही जिल्लाको मलंगवा नगरपालिका–४ ढाँका गाउँस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल पड्किँदा एक किशोर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो करिब १:३५ बजे स्थानीय रामविश्वास रामका करिब १५ वर्षीय छोरा आकाश रामले घरदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको निर्माणाधीन मन्दिरभित्र रातो कपडाले बेरिएको एउटा वस्तु भेटे। खोल्दा पेस्तोल देखिएपछि नक्कली ठानी चलाउने प्रयास गर्दा त्यो अचानक पड्किएर उनको दाहिने हातको पञ्जामा चोट लागेको थियो।
घटनाको जानकारी पाएपछि प्रहरी नायब उपरीक्षक सरोज राईको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते किशोरलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको र उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल तथा पड्किएको खोका बरामद गरेको जनाएको छ। उक्त स्थान अस्थायी प्रहरी पोस्ट पेट्रोलपम्पबाट करिब १ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ।








