रौतहट ६ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार रामजी शाह ले रौतहट क्षेत्र नम्बर ४ भित्रको निरन्तर प्रचार–प्रसारलाई झनै सशक्त बनाएका छन्। चुनावी अभियानअन्तर्गत उनले बिहीबार चन्द्रपुर नगरपालिका–७ मा व्यापक घरदैलो गरेका हुन्।
घरदैलोका क्रममा शाहले भेटेका अधिकांश मतदाताहरू आगामी निर्वाचनमा आफूप्रति सकारात्मक रहेको बताउँदै चुनावी माहोल आफ्नो पक्षमा बन्दै गएको टिप्पणी गरे। उनले युवा–केन्द्रित रोजगारी सिर्जना, कृषकका समस्या समाधान, सीपमूलक कार्यक्रम विस्तार तथा गाउँ–शहरमा उद्योगस्थापना जस्ता कार्यहरूलाई प्राथमिक एजेन्डाका रूपमा राख्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।
नेकपा एमाले नेकपा एमाले का तर्फबाट उम्मेदवारी दिइरहेका शाहले रौतहट क्षेत्र नम्बर ४ का दीर्घकालीन समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको जोड दिए। उनका अनुसार कृषि पूर्वाधार विकास, सिंचाइ पहुँच विस्तार, स्थानीय उद्योग–व्यवसायलाई प्रोत्साहन तथा युवालाई स्वदेशमै अवसर दिलाउने योजनालाई जितपछि संस्थागत रूपमा अघि बढाइनेछ। मतदाताले विगतका सरकारहरूले आफ्नो क्षेत्रमा पर्याप्त ध्यान नदिएको गुनासो राखेको उल्लेख गर्दै शाहले यसपटक जनताले परिवर्तनको आशामा आफूलाई साथ दिने विश्वास व्यक्त गरे।
सामुदायिक बस्तीभित्र चहलपहल बढाएको यस अभियानमा उनले पवन बुहारी नयाँ बस्ती सहित विभिन्न टोल–टोलमा पुगेर स्थानीयको समस्या सुने। घरदैलोका क्रममा उनले मतदातालाई विकासका कार्यहरू स्थायी र दीर्घकालीन हुने गरि योजनाबद्ध रूपमा अघि बढाइने आश्वासन दिए।
स्थानीय स्तरमा चुनावी गतिविधि चर्किँदै जाँदा मतदाताहरूको चासो र सहभागिता पनि बढिरहेका छन्। शाहको अभियानले चन्द्रपुर क्षेत्रमा चुनावी प्रतिस्पर्धालाई झनै रोचक बनाएको देखिन्छ। आगामी प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ का मतदाताले कस्तो जनमत दिन्छन् भन्ने विषयले अहिले राजनीतिक वृत्त र स्थानीय समुदाय दुवैमा विशेष ध्यान खिचिरहेको छ।