रौतहट, ९ फागुन। सन्तपुरदेखि सिन्दुरेघारीसम्म जोड्ने महत्वपूर्ण सडक गुणस्तरहीन पिच गरेर बिगारिएको भन्दै स्थानीयले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर र ठेकेदारलाई खुलेआम आरोप लगाएका छन्। चन्द्रपुर नगरपालिका–८ अन्तर्गत पर्ने यो सडकमा भइरहेको पिचमाथि पुनः पिच गर्ने नाममा ठेकेदार र प्राविधिकको मिलेमतोमा योजनाबद्ध रूपमा कमजोर काम गरिएको स्थानीयको दाबी छ।
सन्तपुरस्थित बसोबास गर्ने स्थानीय बासिन्दाहरूका अनुसार, काम सुरु गर्नुअघि पुरानो सतह मर्मत, लेवल मिलाउने, आवश्यक मेटेरियल छान्ने जस्ता आधारभूत काम नगरी सिधै पिच थपिएको छ। यसपछि सडक विभिन्न भागमा चिरा परेको, सतह उखेलिन थालेको तथा कतिपय स्थानमा मेटेरियल सडककै छेउछाउ फालिएको देखिन्छ, जसले दुर्घटना बढ्ने खतरा थपिएको छ।
स्थानीय बासिन्दा अखिलेश्वर चौधरीका अनुसार, चुनाव नजिकिँदै जाँदा नेताहरू प्रचार–प्रसारमा मात्र लागेपछि सडक बिग्रिँदै जाँदा पनि कसैले आवाज उठाएनन्, र यही मौका छोपेर ठेकेदारले टालटुले काम गरेको हो। उनले थपे, “सडक डिभिजन कार्यालयका कर्मचारी नै संलग्न नभए यस्तो निर्लज्ज काम गर्न सकिँदैन। उनीहरूकै मिलेमतोमा सडक कमजोर बनाइएको हो।”
सडक डिभिजन कार्यालय Chandranigahpurका प्रमुखसँग यस विषयमा बुझ्न खोज्दा फोन नउठेपछि स्थानीयको शंका झनै थपिएको छ।
यता, स्थानीयले सडकमा फ्यालिएको गुणस्तरहीन मेटेरियलले पैदलयात्री तथा सवारी चालकलाई जोखिम बढाएको बताउँदै तत्काल काम रोक्न र पुनः निर्माण गराउन माग गरेका छन्।
सन्तपुरका अर्का स्थानीय राजु दाहाल भन्छन्, “यति ठूलो समस्या देखिएको छ, तर सडक डिभिजनका कर्मचारीले कानमा तेल हालेर बसेका छन्। यसले उनीहरूको संलग्नता नै पुष्टि गर्छ।”
स्थानीयवासीहरूले अब भने सामूहिक रूपमा आवाज उठाउन थालेका छन्। उनीहरूले ठेकेदारलाई स्थलमा बोलाएर काम पुनः गराउने तथा सडक डिभिजनका कर्मचारूमाथि छानबिन गर्नुपर्ने माग अघि सारेका छन्।
स्थानीयको जोड शब्दमा भनिंदै छ—सन्तपुर–सिन्दुरेघारी सडक क्षेत्रको लागि यो समस्या केवल निर्माण त्रुटि होइन, विकासका नाममा गरिएको खेलवाड हो। अब जिम्मेवार निकायले तुरुन्त हस्तक्षेप नगरे जनआन्दोलनसम्म जाने चेतावनी उनीहरूले दिएका छन्।








