रुपेन्द्र पटेल
रौतहट, १८ फागुन । रौतहटको राजपुर नगरपालिका–५ पानीटंकीस्थित राजपुरबाट अकोलवा जाने भित्री पक्की सडक खण्डको बीच भागमा शंकास्पद वस्तु फेला परेको छ ।
आज बिहान करिब साढे  १ बजे फलामको ड्रमभित्र पहेँलो रङको प्लास्टिकको बोरामा शंकास्पद वस्तु राखिएको तथा ड्रमको छेउमा बाटोमै ‘बम हो’ लेखिएको अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ खटिएको थियो ।
घटनास्थलमा पुगेर जाँच गर्दा उक्त शंकास्पद वस्तुमा माटो मात्र भरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले सर्वसाधारणलाई यस्ता शंकास्पद वस्तु देखिएमा नछुनी तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।