रौतहट,२० फागुन । नेकपा एमाले रौतहटले चन्द्रपुर नगरपालिका–२ का स्थानीय बासिन्दा तथा पार्टी सचिवालय सदस्य टेकानाथ खरेलमाथि भएको सांघातिक आक्रमणप्रति कडा आपत्ति र भर्त्सना गरेको छ।
पार्टीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा खरेलमाथि राति अज्ञात समूहले आक्रमण गरेको जनाइएको छ। घटनालाई योजनाबद्ध आपराधिक गतिविधि भन्दै एमाले रौतहटले तत्काल दोषीहरू पहिचान गरी कडा कानुनी कारबाही गर्न सुरक्षा निकायसँग माग गरेको छ।
विज्ञप्तिअनुसार पार्टी सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख रहेका खरेलमाथि भएको घटनाले जिल्लाको शान्ति–सुरक्षाप्रति प्रश्न उठाएको छ। सुरक्षाको जिम्मेवारी लिने निकायले प्रभावकारी भूमिका नखेलेको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ।
घटना पश्चात उत्पन्न परिस्थितिले स्थानीयवासीमा त्रास फैलिएको उल्लेख गर्दै पार्टीले नगरवासीको मनोबल उच्च राख्दै शान्ति–व्यवस्था कायम गर्न सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।
प्रेस विज्ञप्तिमा पार्टीका सचिव बाबुराम दाहालले हस्ताक्षर गरेका छन्।