रौतहट — जिल्ला प्रहरी कार्यालय रौतहट ले होली पर्वका अवसरमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गर्दै शान्ति सुरक्षामा खलल पुर्‍याउने ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई सार्वजनिक सुरक्षामा जोखिम पुगेको तथा कानूनविपरीत गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसबाहेक, निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सञ्चालन गरिएका विदेशी नम्बर प्लेट भएका ४० वटा सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार चुनावी अवधि भएकाले सवारी साधन प्रयोगसम्बन्धी निगरानी कडा पारिएको छ।
प्रहरीले होली पर्वका क्रममा उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी तथा गस्ती थप प्रभावकारी बनाइएको र नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही अघि बढाइने जनाएको छ।