काठमाडौं । सत्ता, शक्ति र सम्पत्तिको चक्करमा फेरि एकपटक ठूलो नाम तानिएको छ। पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।
भदौ २४ को रहस्यमय आगजनी घटनापछि खड्काको निवास चर्चाको केन्द्र बनेको थियो। आगलागीको धुवाँसँगै बाहिरिएको थियो शंकाको मुस्लो—निवासबाट नेपाली रुपैयाँ मात्रै होइन, विदेशी मुद्राको ठूलो परिमाण फेला परेको दाबी सार्वजनिक भयो।
त्यसैबीच, नेपाल स्काउट को जग्गा हिनामिनामा समेत खड्काको नाम जोडिएपछि प्रकरण थप गम्भीर बनेको छ। स्रोतका अनुसार अनुसन्धान अगाडि बढेसँगै थप ठूला खुलासा हुन सक्ने संकेत देखिएको छ।
राजनीतिक वृत्तमा यस घटनाले तरंग पैदा गरेको छ। ‘ठूला माछा’ समात्ने अभियान सुरु भएको हो कि भन्ने चर्चा चुलिँदै जाँदा, अबको अनुसन्धानले कुन-कुन अनुहार उजागर गर्ने हो भन्ने चासो बढ्दो छ।








