चैत्र २५, रौतहट।
रौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, उपसचिव नीलमकुमार न्यौपानेद्वारा सरकारी सवारी साधनको दुरुपयोग गरिएको तथ्य सार्वजनिक भएको छ।
प्राप्त जानकारीअनुसार न्यौपानेले कैलालीको भजनी नगरपालिकासँग सम्बन्धित एक मुद्दामा बयान दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धनगढीस्थित कार्यालय पुग्दा गरुडा नगरपालिकाकै सरकारी गाडी प्रयोग गरेका थिए। उक्त मुद्दा गरुडा नगरपालिकाको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित नभए पनि उनले स्थानीय तहको सवारी साधन प्रयोग गरेको पाइएको हो।
सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो कार्यक्षेत्र बाहिरका व्यक्तिगत वा असम्बन्धित प्रयोजनका लागि सरकारी स्रोत साधन प्रयोग गर्नु कत्तिको उचित हो भन्ने प्रश्न उठेको छ। प्रचलित कानुनी तथा प्रशासनिक व्यवस्थाअनुसार सरकारी सवारी साधन सरकारी कामकाजका लागि मात्र प्रयोग गर्न पाइन्छ।
अझ गम्भीर पक्ष के छ भने गरुडा नगरपालिकाकी उपमेयर पुनमदेवी चौधरीले आफू प्रयोग गर्दै आएको सरकारी गाडी नै न्यौपानेलाई उपलब्ध गराएको विषयसमेत बाहिर आएको छ। यसले व्यक्तिगत मात्र नभई संस्थागत तहमा समेत स्रोत साधनको दुरुपयोग भएको संकेत गरेको छ।
स्थानीय तहभित्र उच्च पदाधिकारीहरूबीच समन्वयमै यस्तो कार्य हुनु सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। सार्वजनिक स्रोत साधनको प्रयोग निश्चित कार्य र क्षेत्रभित्र सीमित हुनुपर्ने प्रावधान रहेकाले यस घटनाले प्रशासनिक उत्तरदायित्व र आचरणमाथि थप बहस जन्माएको छ।
आफूलाई नियमअनुसार काम गर्ने र इमानदार अधिकारीका रूपमा प्रस्तुत गर्दै आएका न्यौपानेमाथि लागेको यो आरोपले उनको छविमाथि समेत प्रश्न खडा गरेको छ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षण भएको जनाइएको छ। अब यस घटनामा कस्तो छानबिन र कारबाही अघि बढ्छ भन्ने विषयमा सर्वसाधारणको चासो बढ्दो छ।