रौतहटको वृन्दावन नगरपालिका अन्तर्गत रमौली बैरिया घाटमा बागमती नदीको खुलेआम दोहन भइरहेको तथ्य सार्वजनिक भएको छ। ठेकेदारले तोकिएको मापदण्ड विपरीत मनलाग्दी रूपमा गिट्टी, बालुवा उत्खनन गर्दै नदीको स्वरूप नै बिगारिरहेका छन्। अनियन्त्रित स्क्याभेटर प्रयोगले नदीकिनार कटान बढेको र आसपासका बस्ती जोखिममा परेको स्थानीयको गुनासो छ। निरन्तर दोहनले कृषि जमिन तथा पूर्वाधार समेत खतरा बढाएको उनीहरूको भनाइ छ। सम्बन्धित निकाय मौन बस्दा ठेकेदार झन् मनोबल बढेको देखिन्छ। स्थानीयले तत्काल अनुगमन गरी कारबाही गर्न माग गरेका छन्। अन्यथा ठूलो क्षति व्यहोर्नु पर्ने चेतावनी दिएका छन्। प्रशासन र प्रहरी समेत बेखबर जस्तो देखिँदा अवैध गतिविधि झन् बढ्दै गएको छ।








