रौतहट, १९ वैशाख ।
चन्द्रपुर नगरपालिका–६ मा रहेको ऐतिहासिक हाटबजार अहिले अतिक्रमणको चपेटामा परेर साँघुरिँदै गएको छ । झण्डै पाँच दशकदेखि स्थानीयको जीविकोपार्जनको आधार बनेको बजार नै केही व्यक्तिको कब्जामा पर्दा सर्वसाधारण व्यापारी सडकमै पसल थाप्न बाध्य भएका छन् ।
२९ कठ्ठा सरकारी जमिनमध्ये अहिले करिब १४ कठ्ठा मात्रै बाँकी रहनु आफैंमा गम्भीर प्रश्न बनेको छ । बाँकी जमिन करिब ३० जनाले कब्जा जमाउँदै आएकोमा १५ जनालाई विगतमा अन्यत्र सारिए पनि अझै १३–१४ जना अटेर गरेर बसिरहेको अवस्था छ । बजार व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रामबहादुर घलानका अनुसार, अतिक्रमण हटाउने प्रयास पटक–पटक भए पनि सफल हुन सकेको छैन ।
हप्तामा दुई दिन—शुक्रबार र सोमबार—लाग्ने बजारमा अहिले अवस्था यस्तो छ कि मानिस हिँड्नसमेत गाह्रो पर्ने अवस्था छ । सवारी आवागमन ठप्प हुन्छ, बजार अस्तव्यस्त छ, र व्यवस्थापन नाममात्रको बनेको छ ।
स्थानीय व्यापारी सरोज साह भन्छन्, “ठाउँ अभावले हामी सडकमै सामान बेच्न बाध्य छौं, सरकारले जमिन खाली गराए मात्र राहत मिल्छ।”
भूमाफियाको खेल, सरकारी कमजोरी !
यो जमिनको कथा झन् रोचक छ । २०४९ सालमा भूमाफियाको संरक्षणमा एक व्यक्तिको नाममा पास गरिएको सरकारी जमिन १७ वर्षपछि मात्र फिर्ता ल्याइएको थियो । मालपोत कार्यालयले सूचना जारी गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभएपछि अन्ततः सरकारकै नाममा फर्काइएको थियो । तर, कागजमा फिर्ता भए पनि व्यवहारमा भने अझै कब्जा कायमै छ ।
नगरपालिकाको ‘हेरौँला’ शैली !
नगरप्रमुख सञ्जय काफ्लेले विषयलाई कार्यपालिकामा छलफल गर्ने बताएका छन् । तर स्थानीयको गुनासो छ—“समस्या वर्षौंदेखि उस्तै छ, छलफलले मात्र के हुन्छ ?”
अब सरकारको नीति लागू हुन्छ कि हुँदैन ?
देशभर सरकारले सार्वजनिक जमिन अतिक्रमण हटाउने अभियान चलाइरहेका बेला चन्द्रपुरको यो हाटबजार झन् चुनौतीपूर्ण उदाहरण बनेको छ ।