चन्द्रनिगाहपुर, ३१ वैशाख
रौतहटको चन्द्रनिगाहपुर नगर क्षेत्रमा पछिल्लो समय पटकपटक विद्युत लाइन जाने समस्या अत्यधिक बढेपछि सर्वसाधारणदेखि व्यवसायीसम्म मारमा परेका छन् । गर्मीयामको चर्को गर्मीसँगै बिजुलीको आँखामिचौलीले नगरवासीलाई हैरानीको चरम सीमामा पुर्‍याएको हो ।
स्थानीयका अनुसार नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा कार्यालय प्रमुखका रूपमा बुद्धिनाथ झा आएयता लाइन जाने समस्या झन् बढेको छ । “पहिले पनि समस्या थियो, तर अहिले त दिनमै दर्जनौं पटक लाइन जाने गरेको छ,” स्थानीयहरू बताउँछन् ।
बुधबार दिउँसो मात्रै चन्द्रनिगाहपुर बजार क्षेत्र, चोक आसपास र आवासीय क्षेत्रमा पटकपटक लाइन काटिँदा सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको थियो । पंखा, कूलर, इन्टरनेट, पानी तान्ने मोटरदेखि पसलका मेसिनसम्म ठप्प हुँदा जनजीवन अस्तव्यस्त बनेको छ ।
स्थानीय व्यवसायी शम्भु खड्काका अनुसार एक घण्टामै सकिने वेल्डिङको काम तीन दिनसम्म लम्बिएको छ ।
“लाइन आइरहन्छ, जान्छ । मेसिन चलाउन नपाउँदै फेरि अन्धकार हुन्छ । ग्राहक रिसाएर फर्किन्छन्,” उनले गुनासो गरे ।
होटलदेखि साइबरसम्म सबै प्रभावित
बारम्बार बिजुली जाने समस्याले चन्द्रनिगाहपुरका होटल, रेष्टुरेन्ट, साइबर, फोटो स्टुडियो, मोबाइल मर्मत पसल, डेरी उद्योग, फर्निचर उद्योग, वेल्डिङ पसल, प्रेस उद्योग, कुखुरा फार्म, पानी उद्योग, आइसक्रिम तथा कोल्ड स्टोर व्यवसाय सबै प्रभावित भएका छन् ।
गर्मीका कारण फ्रिजमा राखिएका पेयपदार्थ बिग्रने, आइसक्रिम पग्लिने, दूध फाट्ने र कोल्ड स्टोरमा राखिएका सामान बिग्रने समस्या बढेको व्यवसायीहरू बताउँछन् ।
साइबर तथा अनलाइन सेवा केन्द्र सञ्चालन गर्नेहरू झन् बढी मारमा परेका छन् । अनलाइन फाराम भर्ने, प्रिन्ट गर्ने र इन्टरनेट सेवामा निर्भर कामहरू घण्टौं बन्द हुँदा सेवाग्राही र व्यवसायी दुवै हैरान भएका छन् ।
विद्यार्थी र बिरामीसमेत पीडित
बिजुली समस्याले केवल व्यवसाय मात्रै होइन, विद्यार्थी र बिरामीसमेत प्रभावित भएका छन् । परीक्षा नजिकिँदै गर्दा विद्यार्थीहरू राति पढ्न नपाएको गुनासो गर्छन् भने गर्मीका कारण वृद्धवृद्धा र बिरामीलाई झन् समस्या भएको छ ।
कतिपय घरमा इनभर्टर र ब्याट्रीसमेत पटकपटक चार्ज–डिस्चार्ज हुँदा बिग्रन थालेका छन् । स्थानीयले लाखौं मूल्यका विद्युतीय उपकरण जोखिममा परेको बताएका छन् ।
बुस कटिङ” भन्दै पन्छिन्छन् प्रमुख !
पटकपटक लाइन गएको विषयमा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख बुद्धिनाथ झासँग सम्पर्क गर्दा उनले “हरेक समय बुस कटिङको काम भइरहेको” भन्दै जवाफ दिने गरेका छन् ।
तर स्थानीय भने यो जवाफबाट सन्तुष्ट छैनन् । “दिनभरि बुस कटिङ मात्रै हुन्छ ? कि व्यवस्थापन कमजोर हो ?” भन्दै उनीहरूले प्रश्न उठाएका छन् ।
स्थानीयवासीका अनुसार यदि मर्मतकै काम भइरहेको हो भने त्यसबारे पूर्वसूचना दिनुपर्ने, निश्चित समय तोकिनुपर्ने र अनावश्यक रूपमा पटकपटक लाइन काट्न नहुने माग उठेको छ ।
जनता भन्छन्– “यो सेवा होइन, सास्ती हो”
गर्मीको बेला बिजुलीको अत्यधिक आवश्यकता पर्ने समयमा नै चन्द्रनिगाहपुरवासीले दैनिक हैरानी खेप्नुपरेपछि नेपाल विद्युत प्राधिकरणप्रति आक्रोश बढ्दै गएको छ ।
स्थानीयहरू अब समस्या समाधान नभए आन्दोलनसम्म गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिन थालेका छन् ।
“महसुल समयमा तिर्नुपर्छ, तर सेवा चाहिँ भगवान् भरोसा !” भन्दै एक स्थानीयले आक्रोश पोखे ।