रौतहट, २८ वैशाख ।
पर्सा जिल्लामा निजी विद्यालय र पुस्तक तथा पोशाक पसलबीचको मिलेमतोविरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा चेतावनी जारी गरिरहँदा रौतहटमा भने यस्ता गतिविधि झन् बढ्दै गएको गुनासो सार्वजनिक हुन थालेको छ ।
रौतहटका विभिन्न निजी विद्यालयहरूले विद्यार्थी र अभिभावकलाई निश्चित पसलबाट मात्रै पुस्तक, कपी तथा विद्यालय पोशाक खरिद गर्न दबाब दिने गरेको आरोप अभिभावकहरूले लगाएका छन् । कतिपय विद्यालयले बजारमा सहज रूपमा पाइने सामग्रीसमेत आफू निकट पसलबाट मात्रै किन्न बाध्य बनाएको गुनासो बढ्दो छ ।
अभिभावकहरूका अनुसार एउटै पुस्तक तथा पोशाक बजारमा सस्तो मूल्यमा उपलब्ध हुँदाहुँदै विद्यालयले तोकेको पसलबाट खरिद गर्दा दोब्बरसम्म रकम तिर्नुपरेको अवस्था छ । केही विद्यालयले छुट सुविधा नदिने मात्र होइन, बाहिरबाट सामग्री खरिद गरेर ल्याए विद्यार्थीलाई मानसिक दबाब दिने गरेको समेत आरोप छ ।
स्थानीय अभिभावकहरू भन्छन्, “शिक्षाको नाममा खुला लुट भइरहेको छ । विद्यालय र पसलबीच मिलेमतो हुँदा मारमा हामी अभिभावक परेका छौं ।”
पर्सा प्रशासनले भने यस्ता गतिविधिलाई सिन्डिकेट र आर्थिक शोषण भन्दै कारवाहीको चेतावनी दिइसकेको छ । तर रौतहटमा सम्बन्धित निकायको प्रभावकारी अनुगमन नहुँदा निजी विद्यालय सञ्चालकहरूको मनोमानी बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
उपभोक्ता अधिकारकर्मीहरूले शिक्षा क्षेत्रलाई व्यापारिक केन्द्र बनाउने प्रवृत्ति नियन्त्रण गर्न जिल्ला प्रशासन, स्थानीय तह र शिक्षा शाखाले संयुक्त अनुगमन गर्नुपर्ने माग गरेका छन् ।
रौतहटका अभिभावकहरूले पनि पर्सा प्रशासनजस्तै कडा कदम रौतहटमा समेत चाल्न माग गर्दै विद्यार्थी र अभिभावकमाथिको आर्थिक भार कम गर्न तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।








