रौतहट,२७ वैशाख ।
रौतहट क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने ईशनाथ नगरपालिका–९ डुमरियादेखि लवतना गाउँ हुँदै औरैया भारतीय सीमासम्म जोड्ने मुख्य सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन्। दैनिक सयौं सवारीसाधन आवतजावत गर्ने उक्त सडक मर्मत अभावमा हिलाम्मे, धुलाम्मे र खाल्डाखुल्डीले भरिएको बनेपछि यात्रु तथा चालक दुवैले जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार सडकको अधिकांश भागमा ठूला–ठूला खाल्डा परेका छन् भने सामान्य वर्षा हुँदा समेत सडक हिलाम्मे बनेर हिँड्नै कठिन हुने गरेको छ। सुक्खा मौसममा अत्यधिक धुलो उड्ने समस्याले सडक आसपासका बासिन्दा समेत प्रभावित बनेका छन्। विशेषगरी बिरामी बोकेका एम्बुलेन्स, विद्यालय जाने विद्यार्थी, किसान तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधनलाई सबैभन्दा बढी समस्या हुने गरेको छ।
स्थानीयवासीहरूले पटक–पटक सडक मर्मतको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस काम नभएको बताएका छन्। सडकको दयनीय अवस्थाका कारण मोटरसाइकल दुर्घटना बढ्दै गएको र रातिको समयमा यात्रा गर्दा झनै जोखिम हुने स्थानीयको भनाइ छ। कतिपय स्थानमा सडकको कालोपत्रे पूर्ण रूपमा उप्किएको छ भने नालाको उचित व्यवस्थापन नहुँदा वर्षाको पानी सडकमै जमेर थप बिग्रिएको अवस्था देखिन्छ।
लवतना हुँदै भारतीय सीमासम्म जोडिने भएकाले यो सडक स्थानीय व्यापार तथा आवतजावतका हिसाबले महत्वपूर्ण मानिन्छ। सीमावर्ती क्षेत्रका नागरिक दैनिक रूपमा यही सडक प्रयोग गरी बजार, स्वास्थ्य संस्था तथा प्रशासनिक कामका लागि ओहोरदोहोर गर्ने गर्छन्। तर सडकको बेहाल अवस्थाले स्थानीय अर्थतन्त्र र जनजीवन दुवै प्रभावित बनेको स्थानीय व्यवसायीहरूको भनाइ छ।
स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूले जनप्रतिनिधि र सम्बन्धित सडक डिभिजन कार्यालयप्रति असन्तुष्टि जनाउँदै तत्काल सडक स्तरोन्नति गर्न माग गरेका छन्। चुनावका बेला सडक निर्माणको आश्वासन दिने नेताहरू निर्वाचित भएपछि बेवास्ता गर्ने गरेको आरोपसमेत स्थानीयले लगाएका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूले भने बजेट अभाव तथा विभिन्न प्राविधिक कारणले सडक निर्माणमा ढिलाइ भएको प्रतिक्रिया दिएका छन्। यद्यपि आगामी आर्थिक वर्षभित्र सडक मर्मत तथा स्तरोन्नतिको प्रक्रिया अघि बढाइने आश्वासन उनीहरूले दिएका छन्।
तर वर्षौंदेखि उस्तै आश्वासन मात्रै सुन्दै आएका स्थानीय भने अब काम नै देख्न चाहन्छन्। “सडक नभएर खाल्डाखुल्डी मात्रै बाँकी छ, अब त यात्रा गर्दा ज्यान जोगाउने चिन्ता हुन्छ,” एक स्थानीयले गुनासो गर्दै भने।








