सिराहा, १५ कार्तिक । सिराहामा एक छोराले आफ्नै आमालाई बोक्सी आरोपमा कुटपिट गरी दिसा खुाउने प्रयास गरेका छन् । सिरहाको कर्जन्हा नगरपालिका ३ की ९० वर्षीया सुदामादेवी साहलाई कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडी कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेका हुन् । छोराले घाँटी थिचेर कुटपिट गर्दा आमा गम्भीर घाइते भएकी थिइन् । आमा दुईदिन प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्केकी छोरी जानकी देवी साहले बताइन् । घटना गएको बुधबारको हो । दुई छोरा छुट्टिएर गएपछि सुदामादेवी घरमा एक्लै बस्ने गरेकी थिइन् । कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा भएको घाउ भएपछि रामऔतारले आमामाथि बोक्सीको आरोप लगाउँदै आएको स्थानीयले बताएका छन् । त्यसै कारण आमालाई कुटपिट गर्दै मलमूत्र खुवाउने प्रयास गरेको स्थानीयको भनाइ छ । दुई दाजुभाइकै मिलेमतोमा आमालाई दिसा खुवाउने तयारी भइरहेको बेला वडाध्यक्ष कपलेश्वर यादवले प्रहरीलाई खबर गरेकाले जघन्य अपराध हुनबाट बचेको छोरी जानकीले बताइन् । छोरी जानकीका अनुसार प्लास्टिकमा घोलेर ल्याइएको दिसा खुवाउने तयारी हुँदै गर्दा प्रहरी पुगेको थियो । आमालाई तत्कालै प्रहरीले उपचारको लागि पठाएको थियो ।