अमृत सापकोटा
चन्द्रनिगाहपुर, १७ मङ्सिर । गवारो किराले उम्रने बित्तिकै मकै सखाप पार्न थाले पछि रौतहटको उत्तर भेगका किसान चिन्तित भएका छन । व्यावसायिक रुपमा मकै खेती हुने चन्द्रपुर नगरपालिकाको सन्तपुर, बसन्तपुर, नजरपुर र सिन्दुरेघारि क्षेत्रमा गवारो किरोको प्रकोप देखिएको हो ।रातको समयमा सक्रिय हुने गवारो किराले मकैको गुभाबाट खान सुरू गरेर पुरै मकैको बोट नष्ट गरिरहेको चन्द्रपुर ८ सन्तपुरका किसान खडक चौलागाईले गुनासो गरे ।
अत्यधिक मकै उत्पादन हुने चन्द्रपुर नगरपालिका वडा नं ८ र ९ क्षेत्रमा गवारो किराले हाल सम्म ६ हेक्टर क्षेत्रफलमा लगाइएको हाइब्रिड जातको मकै खाएर नष्ट पारिरहेको चन्द्रपुर नगरपालिका–९ का वडाध्यक्ष गोविन्द दुलालले बताए । दिन दिनै किराको प्रकोप बढ्न थाले पनि चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र नगरपालिका अन्तर्गत कृषि शाखाको टोलीले प्रभावित क्षेत्रको अनुगमन समेत गरेको छैन । किसानहरुलाई आईपर्ने जैविक प्रकोपबाट बच्न लागि किसानहरुले बाली विमा गर्न आवश्यक रहेको चन्द्रपुर नगरपालिका कृषि सेवा केन्द्र सन्तपुरका प्रमुख उमेश चौधरीले बताए । नगदे बाली मकैबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा परेका छन । विगतमा पनि रौतहटको उत्तरि भेगमा असिना पानीले किसानको मकै नष्ट गरेर पीडित भएका थिए । मकै राम्रो उत्पादन हुने क्षेत्रमा चन्द्रपुर नगरपालिका पनि पर्छ । यस नगरपालिकामा ९ हजार हेक्टर खेतीयोग्य जमिन मध्य करिव ६ हाजार हेक्टरमा नगदे बालीको रुपमा हाईबृड मकै रहेको छ । जिल्लाको उत्तरि भेगमा एक हेक्टरमा औसत ५,६ मेट्रिकटन सम्म मकै उत्पादन हुने गरेको किसानको अनुभव रहेको छ । मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान किराको आक्रमणबाट चिन्तामा परेका छन ।