काठमाण्डौ,२८ मंसिर । प्रहरी हिरासतमा भएका मृत्युका घटनाहरूको अनुसन्धान गर्न प्रधानमन्त्रीलाई आह्वान गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालले पत्र लेखन अभियान शुरू गरेको छ । 
यस अभियानमार्फत एम्नेस्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित निकायलाई प्रहरी हिरासतमा भएका मृत्युका सबै घटनाहरूको निष्पक्ष छानबिन गर्न माग गर्ने साथै यातनाका कारण थुनुवाको मृत्यु भएकोमा सम्बन्धित दोषीलाई जवाफदेही बनाउनका लागि आवश्यक कदम चाल्न आह्वान गर्ने बताइएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालले आफ्नो वार्षिक पत्र लेखन अभियान राइट फर राइट्समा एउटा नया स्थानीय मुद्दालाई समेत समावेश गर्दै नेपालका अधिकारीहरूद्वारा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा भएका मृत्युका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ । २८ जेठमा धनुषास्थित इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्र २३ वर्षीय शम्भु सदा मुसहर मृत भेटिएका थिए । प्रहरीले सदाले आत्महत्या गरेको बताएपनि परिवार र स्थानीय समुदायले प्रहरीको यातनाको कारण उनको मृत्यु भएको भनी प्रदर्शन गरेका थिए । ७ साउनमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको कुटपिटबाट चितवनका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो भने १० भदौमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका रौतहटका १९ वर्षीय विजयराम महराको उपचारको क्रममा मृत्यु भएको थियो । विजयको परिवारले प्रहरीद्वारा भएको यातनाकै कारण उनको मृत्यु भएको दाबी गरेका छन् । विगत ६ महीनाको अवधिमा मात्रै कम्तीमा ६ जना व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको एम्नेस्टी नेपालले जनाएको छ । तर, यसरी प्रहरी हिरासतमा भएका मृत्युका घटनाहरूको अभिलेख नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसंग नभएको एम्नेस्टीले जनाएको छ । 
प्रहरी हिरासतमा मृत्युका घटनाहरू बढिरहेको देखिनु अत्यन्तै चिन्ताजनक विषय हो । यसले नेपालको फौजदारी न्याय प्रणालीमा विद्यमान रहेको थुनुवाहरू र अझ त्यसमा पनि खासगरी सीमान्तकृत समूहबाट प्रतिनिधित्व गर्नेहरूको मानवअधिकारलाई नै सङ्कटमा पार्न सक्ने कमजोरीलाई सङ्केत गर्दछ, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने ।