वीरगञ्ज, ३० माघ । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए । नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको डाक्टर सिंहले जानकारी दिए । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ । ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप हुँदा दुईजना जवान घाइते भएको र स्थिति सामान्य रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।