गौर, ३० माघ । रौतहटको बौधीमाई नगरपालिका वडा नं. ७ का वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो नगरपालिका वडा नं. ७ को वडाध्यक्ष विजय कुश्वाहा माथि सशस्त्र प्रहरीको विओपी बंकुलमा स्थानीयहरुलाई उचालेर आक्रमण गरी बरामद गरेको पशु चौपायालाई भगाएर अपराध गरेको भन्दै शुक्रवार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय रौतहट गौर बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । जनप्रतिनिधि भई वडाअध्यक्ष पदमा बसेर तस्करीको कार्यलाई बढावा दिएको तथा सिमा क्षेत्रमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको भैसी पाडालाई गत माघ १० गते बरामद गरेर विओपीमा राखी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय तर्फ पठाउनु अघि निजले स्थानीयलाई उचाली विओपीमा आक्रमण गराएर बरामद गरिएको चौपाया भगाउदा स्थानीयको आक्रमणबाट विओपीमा क्षति पुगेपछि शान्ति सुरक्षामा खलल पु¥याएकोमा उनी माथि पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पुर्जी जारी भएपश्चात वडाध्यक्ष कुश्वाहा लुक्दै आएका भए पनि शुक्रबार दिउसो प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटमा आवश्यक अनुसन्धान पछि कार्यालय खुलेकै दिनमा उपस्थित हुने शर्तमा सोही नगरपालिका वडा नं ६ का वडाध्यक्षको जिम्मा जवानीमा कुश्वाहालाई तत्काल छाडिएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले जानकारी दिएका छन् ।