चन्द्रपुर, ३० भदौ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी रौतहटको १४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार चन्द्रनिगाहपुरमा भएको जिल्ला सम्मेलनले कुन्दन महतोको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।
“वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान, सुदृढ़ संगठन निर्माणका लागि १४ औं जिल्ला सम्मेलन”. भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनका प्रमुख अतिथी रञ्‍जित तामांगले देशको प्रमुख पदहरुमा पुगेको तथा राजनीतिक रुपले अग्रपंतिमा रहेका नेतादेखि ठुला ठुला कर्मचारीहरु सरकारी विद्यालयबाट नै आफ्नो अध्ययन पुरा गरे पनि उनीहरुले सामुदायिक विद्यालयहरुको पठन पठनमा सोचे अनुसारको परिवर्तन ल्याउन नसकेकोमा दु:ख व्यक्त गरेका थिए । त्यस्तै सम्मेलनका विशिष्ट अतिथी युवराज भट्टराई समिरले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता ल्याउन अखिल क्रान्तिकारीले नयाँ तरिकाको शिक्षिक आन्दोलन गर्न आवश्यक रहेको बताएका छन् । भट्टराईले बोल्ने क्रममा स्थानीय तहमा छुटै किसिमका शिक्षा नीति बनाउन तथा शिक्षा माफियालाई जडै देखि अन्त गर्न अखिल क्रान्तिकारी तात्नुको अर्को विकल्प नरहेको समेत बताएका छन् । जेनज्या लामाको सभापतित्वमा सम्पन्न सम्मेलनको विशिष्ट अतिथीहरुमा माओवादी केन्द्रका प्रदेश सदस्य देवेन्द्र पटेल, अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रवि किरण, सूर्य नारायण साह तथा अतिथीहरुमा पार्टीका प्रदेश सदस्य अशोक जयसवाल, ओहिद अन्सारी, रामानन्द महतो, चन्द्रिका मुखिया, सुधिर यादव, बीर बहादुर गोले, सरोज बच्छार लगाएतका रहेका थिए ।