रौतहट,२४ फागुन । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका कर्मचारीले रकमी चलखेल गरेर उप सचिवको दरबन्दी भएका पालिकाहरुमा नायव सुब्बालाई निमित्त कार्यकारी प्रमुखको जिम्बेवारी दिने गरेको पाईएको छ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा उप सचिवको दरबन्दीमा खिम बहादुर भुजेल कार्यरत भएको भएपनि समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठका स्वकिय सचिव दिलिप पटेलले आर्थिक चलखेल गर्दै भुजेललाई हटाएर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नायव सुब्बा नन्द किशोर गुप्तालाई निमित्त कार्यकारी प्रमुखको जिम्बेवारी दिएको पत्र दिएर पठाएपछि सो नगरपालिकामा खैलाबैला मच्यिको छ ।
दुइ महिना पहिला ईशनाथ नगरपालिकाको प्रमुखका रुपमा आएका भुजेललाई जिल्लाको कटहरिया नगरपालिकामा पठाएर मन्त्रालयले उप सचिवको ठांउमा सुब्बालाई कार्यालय प्रमुख बनाएर पठाएपछि समस्या उत्पन्न भएको सो नगरपालिकाका प्रमुख सन्तोष मेहताले बताए ।
मन्त्रालयमा हुने आर्थिक चलखेलका कारण रौतहटका अधिकांस स्थानीय तहमा सुब्बाले निमित्त भएर काम गर्दै आएकाछन् ।
ईशनाथ नगरपालिकाको उप सचिव भुजेलको सरुवा गरेर आफ्नो मान्छे गुप्तालाई निमित्त हाकिम बनाउनका लागि जसपाका नेताहरुनै लागेको नगरप्रमुख मेहताको भनाइ रहेको छ ।
सो नगरपालिकाको शिक्षा शाखा प्रमुख रहेका नन्द किशोर गुप्ताले आफु हाकिम बन्नका लागि नगरपालिकाकी उप प्रमुख हुस्ने आरा र वडा अध्यक्ष इद मोहमदको नक्कली हस्ताक्षरको कार्यपालिका बैठकको निर्णय मन्त्रालयमा बुझाएको भन्दै मंगलबार बिहानै सो नगरपालिकाको कार्यपालिका सदस्यहरु काठमाण्डौ लागेकाछन् ।
नगर प्रमुखलाई जानकारीनै नदिई गुप्ताले कार्यपालिका बैठक बोलाएको नक्कली माइन्युट खडा गरेर मन्त्रालयमा बुझाएर ईशनाथ नगरपालिकाको निमित्त प्रमुखको पत्र दिएको थाहा पाएपछि हामी आज काठमाण्डौ पुगेका छौ,नगर प्रमुख मेहताले भने ।
समान्य प्रशासन मन्त्री श्रेष्ठका स्वकिय सचिव पटेल रौतहटकै भएका कारण उनले आउदो स्थानीयको निर्वाचनलाई मध्यनजर गर्दै पालिकाहरुमा आफ्ना मान्छे पठाउने अभियानै थालेको रौतहटका निमित्त हाकिमहरुको भनाइ रहेको छ ।
रौतहटका १८ वटा स्थानीय तहमा भुजेल मात्र उप सचिव हुन । अन्य सबै स्थानीय तह निमित्तको भरमा चल्दै आएको छ ।
ईशनाथ नगरपालिकाकी उप प्रमुख हस्ने आराले आफ्नो अध्यक्षतामा कार्यपालिकाको बैठकनै नबसेको र आफ्नो नक्कली हस्ताक्षर गरेर मन्त्रालयमा कागजात बुझाएको थाहा पाएर आफु राजधानी पुगेको बताइन् ।
सो नगरपालिकामा राजनैतिक खिचातानी र मन्त्रालयका कर्मचारीको आर्थिक चलखेलका कारण एक बर्षमा चार जना कार्यालय प्रमुख फेरीएकाले आफु हैरान भएको नगरप्रमुख मेहताको भनाइ रहेको छ ।
माथिको दवावका कारण आफुहरुले उप सचिव भुजेलको ठाउमा नायव सुब्बा गुप्तालाई निमित्त कार्यालय प्रमुखको पत्र दिएर पठाएको भन्दै मन्त्रालयका कर्मचारीले जवाफ दिएको नगर प्रमुख मेहताको भनाइ रहेको छ ।