चन्द्रनिगाहपुर,१६ चैत ।
स्थानिय तहको निर्वाचन मिति घोषणासंगै टोल टोलमा चुनावी माहोल तातिरहेको छ । चिया पसलदेखि चोक चौतारामा सम्भावित उम्मेदवारहरुको बारेमा चर्चा चल्न सुरु गरिसकेको छ । त्यसै उम्मेदवार बन्न इच्छुकहरुले पनि विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा तथा दावी गर्ने क्रम पनि पछिल्लो समय जिल्लामा बढिरहेको छ ।
यसै बिच रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकाबाट नगर प्रमुखको पदमा नेपाली कांग्रेसका युवा नेता मुकेश गिरीले दावी गरेका छन् । सानै देखी नेपाली कांग्रेसको राजनितिमा होमिएका गिरीले यसपालि नगर प्रमुखको टिकट पार्टीले आफुलाईनै दिने दावी गरेका छन् । उनले आफु पार्टी र पार्टीको गरिमालाई उठाउन निरन्तर लागिरहेको स्मरण गर्दै यसपाली पार्टीले आफुलाई टिकट दिएर नगर प्रमुखको रुपमा जनसेवा गर्ने अवसर प्रदान गर्नेमा ढुक्क रहेको बताए । मैले वडा, नगर , प्रदेश , क्षेत्र सबैमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन अहम् भूमिका खेलेको छु उनले भने , अब यस पटक सबै साथीहरुले मलाई नगर प्रमुखको रुपमा जिताउन उत्तिकै महत्वपूर्ण भूमिका खेल्नुहुनेछ । त्यसैले नगर प्रमुखको टिकटको अब्बल दावेदार म नै हु । उनले आफु जहिले पनि जनताको दुःख , सुखमा साथ दिन उनीहरुको घरदैलौमा पुगेकाले जनताले पनि आफुलाई एकपटक चन्द्रपुरको नगरप्रमुखको रुपमा हेर्न चाहेको भन्दै चन्द्रपुर नगरपालिकाको आर्थिक , सामाजिक विकासको लागि आफुसंग स्पष्ट खाका रहेको बताए । चन्द्रपुर नगरपालिकामा व्यवस्थित बसपार्क , चन्द्रनिगाहपुर चोक र बजारमा पानीको निकास सहितको नाला निर्माण, सरकारी अस्पतालको समग्र विकास र स्तरउन्नती, मर्धर, डाबरीलाई देशकै नमुना पर्यटकिय स्थलको रुपमा विकास गर्ने , सामुदायिक विद्यालयमा शिक्षामा सुधार , विभिन्न वडामा रंगशालाको निर्माण लगायतका कार्ययोजना रहेको उनको भनाइ छ । स्थानिय सरकार नागरिकसग दैनिक जोडिने सरकार भएकाले यसको नेतृत्व सही हातमा परे नागरिकले सुविधा पाउछन उनले भने , मसग नगरको ठोस विकासको स्पष्ट योजना छ । पार्टीले अवसर दिए नगर प्रमुख पदमा जितेर देखाइदिन्छु र चन्द्रपुरवासीलाई देखिने विकासको अनुभूति गराउने छु । सबैलाई समेट्न सक्ने क्षमता , नेपाली कांग्रेसका कार्यकर्ता र आम नागरिकमा लोकप्रियतानै आफ्नो जितको पहिलो आधार भएको उनको भनाइ छ । नेपाली कांग्रेसभित्र एक कुशल संगठकको रुपमा चिनिएका गिरीले पार्टीका विभिन्न पदहरुमा रहेर काम गरिसकेका छन् ।नेपाली कांग्रेसको राजनितिमा सक्रिय गिरी सामाजिक सेवापनि उत्तिकै सक्रिय छन् ।
जिल्लाकै चिरपरिचित स्वरस्वती यूवा क्लवको सदस्य ,गोर्खा युवा क्लवको बर्तमान अध्यक्ष ,जिल्ला खेलकुद विकास समिति रौतहटको पुर्व उपाध्यक्ष ,जनज्योती माध्यमिक विद्यालयको पुर्व अध्यक्ष तरुण दलको जिल्ला सदस्य ,नेपाली कांग्रेस चन्द्रपुर ५ को सभापति र हाल नेपाली कांग्रेस चन्द्रपुरको सभापति रहेका गिरी स्पष्ट बक्ताका रुपमा चिनिने गरेकाछन् ।








