रौतहट,१६ असार । जिल्लाको चन्द्रपुर नगरपालिका(८ स्थित एक झोले विद्यालयले सरकारी नीति विपरित दोहोरो तेहेरो लाभ लिँदै राज्यकोषबाट ठगी गर्दै आएको छ । वर्षाैंदेखि सरकारी लाखौं रुपैयाँको चरम दुरुपयोग हुँदै आएपनि सम्वन्धित निकाय मौन र निरिहझैं देखिएको छ । नगरको शिक्षा शाखाबाट शुन्य अनुदानका रुपमा वार्षिक १० लाख रुपैयाँ र विद्यालयमा कार्यरत सरकारी दरबन्दीका चार जना शिक्षक कर्मचारीबाट वार्षिक १० लाख भन्दा बढि रुपैयाँ यसै विद्यालयका लागि सरकारी रकम खर्च हुँदै आएको पाईएपछि यो रहस्य खुलेको हो । एकातिर शुन्य अनुदानको स्कुल भनेर मोटो रकम लिने र अर्काेतर्फ दरबन्दीका शिक्षक कर्मचारीलाई जाने तलब पनि यहि स्कुलमा खर्चिदा सरकारी रकम राज्यकोषबाट दोहन हुँदै आएको छ ।
दुरुपयोग भएको रकममा अनुदानको वार्षिक १० लाख र प्राविका एक जना प्रधानाध्यापक, दुईजना बाल विकासका शिक्षक तथा एक जना कार्यालय सहयोगीको तलब तथा भत्ता हो । अर्के विद्यालयमा दरबन्दी रहेको प्रधानाध्यापकले मासिक ३४ हजार,बालविकासका शिक्षकले १७ हजार र कार्यालय सहयोगील नौ हजार रुपैयाँका दरले १३ महिनाको तलब खान्छन । यस प्राविले आ.व २०७६÷७७ देखि शुन्य अनुदान अन्तर्गत स्थानीय तहको शिक्षा शाखाबाट १० लाख रुपैयाँ अनुदान रकम लिँदै आएको हो । शुन्य अनुदान लिएर चलेका विद्यालयमा सरकारी दरबन्दीका शिक्षक हुँदैनन् । यस विद्यालयको नाउँमा आफ्नै सरकारी शिक्षक दरबन्दि छैन् । तर यस विद्यालयमा अन्यत्रै दरबन्दी भएका तीन जना शिक्षक र एक जना कार्यालय सहयोगीका रुपमा कार्यरत छन् ।
यो विद्यालय वि.स २०६५ सालम स्थापना भएको हो ।
यस विद्यालय संचालनको सम्वन्धन तथा अनुमती कक्षा तीनसम्म मात्रै रहेको चन्द्रपुर नगर शिक्षा शाखाले जनाएको छ ।
तर पढाई भने कक्षा पाँचसम्मको भनेर चन्द्रपुर नगरपालिकाको शिक्षा शाखामा कागज पेश गरेको पाईन्छ । यस विद्यालयको बदमासी यतिमात्र हैन, यहाँ मुस्किलले ४० देखि ५० जनासम्म विद्यार्थी पढ्दैनन् । तर नगरपालिका र मन्त्रालयको ‘क्ष्झष्क’ प्रणालीमा भरेको एक सय १० जना विद्यार्थीको विवरण देखाइएको छ । यस विवरणका आधारमा स्कुलले दिवा खाजा,छात्रा तथा दलितका नाउँमा छात्रबृति रकमसमेत गरि प्रति विद्यार्थी वार्षिक चार सयका दरले ५६ जनाको विद्यालयको खातामा सरकारी रकम गइरहेको पाइएको छ । यो पनि राज्यकोषको दोहनको नमुना हो ।
शुन्य अनुदानको रकमबाट दुई जना शिक्षक नियुक्ति गरिएको विद्यालयका प्रधानाध्यपक शेख जौहर अलिले बताउनुभयो ।
यसअघि विद्यालयमा छड्के चेकजाँच र निरिक्षणमा नगर शिक्षा शाखासहितको टोली जाँदा मुस्किलले ४५ जना जतिको हाजिरी भेटिएको चन्द्रपुर नगरका स्वयं विद्यालय निरिक्षक दिपेन्द्र मण्डल बताउनुहुन्छ ।
दोहोरो तेहोरो सुविधा लिने यो विद्यालय जिल्लामैं अहिले पहिलो नमुना बनेको छ । यस विद्यालयलाई खारेज गरेर अर्काे विद्यालयमा गाभ्नुपर्ने माग नगरपालिकामा उठ्दै आएपनि कुन सुनवाई नभएको चन्द्रपुरका शिक्षाप्रेमी बाबुराम दाहालको आरोप छ । नगरको शिक्षा शाखा मौन रहनुमा मिलोमतो रहेको आशंका गरिएको छ ।
शक्ति र पहुँचका भरमा यस विद्यालयले राज्यको शिक्षा नीति बिपरित राज्यकोषको वर्षेनी दोहन गर्दे आएपनि रोकिन सकेको छैन् । त्यस विद्यालयले राज्यको रकमको ठगि र दोहन हुँदासमेत रोक्नलाई चन्द्रपुर नगरपालिकाले ठोस कदम चाल्न सकेको देखिएको छैन् । यस सम्वन्धमा नगरका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद सिग्देल सो विद्याललयमा दोहोरो सुविधा जानुमा राजनीतिक प्रभाव र दवाव रहेको स्विकार्नुहुन्छ । रासस