रौतहट,१८ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश भएको बताएका छन् । केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग उनले माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले बैंकबाट ऋण नपाएपछि मिटरव्याजीहरुको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले आम जनतालाई बैंकहरुबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको भन्दै गरिबले पनि बैंकबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाई दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । ‘देशको पूँजी सही ढंगले परिचालन नभई मुलुकको समृद्धि सम्भव छैन । मान्छे जानी जानी ठगिन बाध्य हुन्छ । ठगिने परिवेश कसले निर्माण गरयो ? बैंकले ऋण नदिने भएकाले मानिस जानी जानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छ’ साहले भने, ‘गरिबले बैंकबाट ऋण लिन पाउने अधिकार पनि छैन ? त्यसकारण गरिबलाई आत्महत्याका लागि प्रेरित गरिदिने, ठगिन विवश विवश बनाई दिने राज्यको निकाय र ती बैंक सञ्चालकहरु के गरेर बसिराखेका छन् ? मान्छेले सहज ढंगले बैंकबाट ऋण पायो भने यस्ता खालका कथाको जरुरत पर्दैन ।’ गरिब जनताबाट निक्षेप संकलन हुने तर केही मुठीभर मानिसहरुले मात्रै ऋण पाउने अवस्थाको अन्त्य नभएसम्म मुलुकमा समृद्धि सम्भव नरहेको उनको भनाई छ ।
अध्यक्ष साहले निक्षेप संकलन भएकाले बैंकहरु खुशी भएपनि ऋण नपाउँदा गरिब जनता मारमा परिरहेको पनि स्मरण गराएका छन् ।