गौर,१० साउन । आम जनता पार्टीका अध्यक्ष तथा रौतहट क्षेत्रनं ३ का संघिय सांसद प्रभु साहलाई कार्वाहीको माग गर्दै रौतहटको सदरमुकाम गौरमा बिरोध प्रर्दशन भएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुले साहलाई कारबाहीको माग गर्दै मंगलबार गौरमा प्रदर्शन गरेका हुन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् । उनीहरुले गौर हत्याकाण्डको मुख्य दोषी साह भएको जिकिर गर्दै कारबाहीको माग गरेका हुन् । त्यस्तै २३ असार २०६८ मो कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्या, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्यामा पनि प्रभु साहको संलग्नता रहेको ६ दलीय मोर्चाको भनाइ रहेको छ ।गएको साउन १ गते साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो । ६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।२०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए । गौर घटना भएको १७ वर्षसम्म पनि दोषीलाई कारवाही नभएको भन्दै आम जनता पार्टीले १ साउनमा प्रर्दशन गरेपछि सोमबार ६ दलले संयुक्त रुपमा साहको विरुद्धमा गौरमा प्रर्दशन गरेका हो । गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए । २०८० साउन १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।