रौतहट,२१ कार्तिक । उखुको क्रसिङ सिजन सुरु हुन लाग्दासमेत सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छैन् । उखुको न्यूनतम समर्थन मूल्य नतोकेका कारण किसानले पुरानै मुल्यमा उखु बेच्न बाध्य बनेका छन् ।
गरुडामा रहेको श्रीराम सुगर मिल्स २०७७ सालदेखि नै बन्द रहेको छ । श्रीराम सुगर मिल्स बन्द भएपछि जिल्लामा अब एक मात्र चिनी उद्योगको रुपमा २०७५ सालमा सञ्चालित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा किसानहरु उखु बेच्दै आएका छन् । सरकारले उखुको मुल्य नतोकेकै अवस्थामा सो मिलले उखु क्रसिङ गर्न थालेको हो । कटहरिया नगरपालिका वडा नं–९ डुमरियामा रहेको सो मिलले सिजनको लागि मिल सञ्चालनमा आएको छ । तर किसानलाई उखुको मुल्य कतीदिने भन्ने कुराको कुनै ठेगान भएको स्थानीय किसान शम्भु साहले बताए ।
आइतबारदेखि सो मिल सञ्चालनमा आएको हो । प्रत्येक वर्ष मंसिरमा उद्योग सञ्चालन गर्ने गरिएको भएपनि यस वर्ष कार्तिकमै उखु तयार भएकाले एक महिना अगाडि नै उद्योग सञ्चालन गर्नुपरेको बाबा बैजुनाथ सुगर एण्ड केमिकलका सञ्चालक बैजु प्रसाद बाबराले बताए । सरकारले यस वर्ष उखुको मूल्य निर्धारण नभएसम्मका लागि गत वर्षकै मूल्यमा उखु खरिद गर्ने गरी मिल सञ्चालनमा ल्याइएको उनले बताए । तर उखु किसानले पुरानो मुल्यमा आफुहरुले उखु बेच्न नसक्ने बताउदै आएको भएपनि सरकारले मुल्य नतोक्दै किसानहरु मिललाई उखुदिन बाध्य भएको किसानहरुको भनाइ रहेको छ । उखुको मूल्य निर्धारण नहुँदा किसानहरुले पुरानै मुल्यमा चिनी मिललाई सस्तोमा उखु दिइरहेको बगहीका स्थानिय किसान मनोज साहको भनाई रहेको छ ।
सरकारले समयमै उखुको मूल्य निर्धारण नगर्दा उखु किसानले आफुहरुलाई नगदेबालिका रुपमा लगाएको उखु सस्तोमा बेच्नु परेकोमा चिन्ता जनाउदै आएका छन ।
पछि सरकाले उखुको मुल्य बढाएर निर्धारण ग¥यो भने, उखु बेचेका किसान मर्कामा पर्ने साहको भनाई रहेको छ । यता यसवर्ष सरकारले उखुको मुल्य बढाएर निर्धारण गर्नु पर्ने माग स्थानिय किसान रौशन चौधरीको रहेको छ । चिनीको मूल्य हरेक वर्ष बढ्ने तर, उखुको मुल्य नबढदा रौतहटमा उखु किसान गर्ने किसानको संख्यामा कमी आएको बृन्दावनका स्थानीय किसान हरिन्द्र पटेलले बताए ।








