हरियो वन,नेपालको धन भन्ने उखान यतिखेर हराउदै जान थालेको छ । खास गरेर मधेश प्रदेशमा रहेको हरियो वन यतिखेर तस्कर र कर्मचारीको धन बन्दै जान थालेको छ । स्थानीय स्तरमा आम नागरिकमा वन जोगाउनु पर्छ भन्ने ज्ञान नहुनु र वन जोगाउनुपर्छ भन्दै जागिर खान आएका कर्मचारीहरुमा द्रव्य मोह बढ्दै जानुले तराई मधेशको वन यतिवेला उजाड बन्दै जान थालेको छ । खास गरेर रौतहटको घना वन यतिबेला मासिदो अवस्थामा रहेको छ । डिभिजन वन कार्यालय रौतहटकै तथ्यांकलाई आधार मान्ने हो भने पनि चुरे देखि तराईका फेदीसम्म फैलिएको वन यतिबेला उजाड बनेको छ । २ दिन अघि मात्र जिल्लाको वलेरी सव डिभिजन वन कार्यालयका कर्मचारीले १२ जना काठ चोरीमा संलग्न र उनीहरुले काठ चोरीमा प्रयोग गरेको २ थान साइकलको वनावट यतिवेला सामाजिक संजालमा भाइरल बनेको छ । २ वटा साइकललाई जोडेर सिंगै सालको रुख काटेर लोड गरि लैजादै गरेको अवस्थामा काठ चोरहरु पक्राउ परेका थिए । वन कर्मचारीको नियतलाई हेर्ने हो भने उनीहरुले आफुले मागे जति रकम नपाएको झोकमा मानिस पक्राउ गर्नुका साथै काठ बरामद गरेको सहजै अनुमान लगाउन सकिन्छ । जिल्लाको विभिन्न स्थानका वन क्षेत्र मासेर बस्ती बनाउदा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यान नजानुले समेत उनीहरुको वन विनासमा हात रहेको अनुमान लगाउन गाह्रो पर्दैन । राज्यले चुरे संरक्षणका लागि वार्षिक करोडौ रकम डिभिजन वन कार्यालय रौतहट मार्फत खर्च गर्दै आएको छ । तर चुरे मासेर बनेका बस्तीमै राज्यकै अर्काे निकाय स्थानीय तहले चुरेमा रहेका वस्तीलाई लक्षित गरि डोजरले खनेर बाटो बनाउने, खानेपानीका पाइप पुर्याउने र विद्यालय समेत बनाउदा डिभिजन वन कार्यालयको ध्यान जान सकेको छैन । पछिल्लो समय आएर जिल्लाका साझेदारी वन, सामुदायिक वन र धार्मिक वन समेत मासिन थालेको छ । त्यसतर्फ डिभिजन वन कार्यालयको ध्यान जान सकेको छैन । राज्यले वन जोगाउनका लागि खटाएका वन कर्मचारी नै काठ तस्करसंग मिल्ने, वन मासेर बस्ती बसाउनेसंग साँठगाँठ गर्ने गरेका कारण वन उजाड बन्दै गएको हो । तिव्र वन विनास रोक्नका लागि वन कर्मचारी मात्र नभएर स्थानीयहरु समेत जागरुक हुनुपर्ने देखिन्छ । वन विनाससंगै वातावरणमा पर्ने प्रभावका विषयमा डिभिजन वन कार्यालयले वन जंगल छेउका बस्तीमा चेतनामूलक कार्यक्रम गर्नु आवश्यकता हो । तर यसतर्फ वन कर्मचारीको ध्यान नजानु आफैमा दुर्भाग्यपूर्ण रहेको छ ।
२०८० मंसिर २७ गतेको तराई एक्सप्रेस दैनिकको सम्पादकिय ।








