गौर,२० पुस । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको क्षेत्रमा बर्षउ देखी अलपत्र रहेको पुल निर्माण हुनुपर्ने भन्दै स्थानीयले दुई दिन देखी सडकमा प्रर्दशन गर्नुको साथै सडक अवरुद्ध पारेका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सिमाक्षेत्रमा पर्ने वाग्मती पुल निर्माणको काम सुरु गर्न माग राख्दै स्थानीयले दुई दिनदेखि गौर–चन्द्रनिगाहपुर खण्ड ठप्प पारेका छन् । प्रदेश सांसदसहित स्थानीय रोडमै टेन्ट टाँगेर बसिरहेका छन् । २०६७ सालमा शिलान्यास भएको पुल १३ वर्ष बित्न लाग्दा सम्पन्न भएको छैन । पुर्व प्रधानममन्त्री माधव कुमार नेपाल र मधेश प्रदेशका भौतीक पुर्वाधार मन्त्री प्रष्ण प्रसाद यादवको क्षेत्रमा रहेको वडहर्वा पुल नबनेको भन्दै स्थानीय सडकमा आएका हुन ।
तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्वाकांक्षी परियोजना अन्तर्गत वाग्मती पुलको शिलान्यास भएको १३ वर्ष बितिसक्दा पनि निर्माणको काम नसकिएपछि प्रदेश सांसद नागेन्द्र साहसहितका स्थानीयले सडकमै दुई दिनदेखी बसेर प्रर्दशन गर्नुका साथै सडक अवरुद्ध गरेका हुन । हामी टेन्टमै खाने बस्ने गरेका छौं । जबसम्म पुल निर्माणको काम सुरु हुँदैन तबसम्म यहाँबाट हटदैनौं नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार बिभाग प्रमुख नितेश कुमार गुप्ताले बताए । उनले भने ,शिल्यान्यास भएको एक दशक बढी समय बित्दा पनि पुल सम्पन्न हुने छाँट छैन ।’ चक्काजामले चन्द्रनिगाहपुर गौर सडकमा सवारी आवागमन अस्तव्यस्त बनेको छ । पुलको सुरुमा लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयामा ठेक्का सकारेको थियो । २०६७ जेठ ३१ गते लिखित रुपमा हस्ताक्षर गर्दै २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता ग¥यो । सझौतापछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका थिए । पुलको लम्बाई ६३४ मिटर र चौडाई डबल लेन्थको छ । पुलमा १७ स्पानसहितको सम्झौता भएको थियो । ठेकेदारले १७ वटै स्पानको काम सकेको छ । त्यसैबेला नदी सर्लाहीतिरबाट बग्न थालेपछि पुलको औचित्य नरहने भन्दै हुलाकी राजमार्ग निर्देशनालयले तत्कालै काम बन्द गरेको थियो । त्यसपछि ठेकेदारले काम गर्न मानेन र निर्देशनालयले ठेक्का तोडेर दोश्रो पटक ठेक्का आहृवान गर्दा २२४१ मिटर लम्बाई नदी नियन्त्रणको कामसहित महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख ७७ हजार ५ सय एक रुपैयाँमा ठेक्का सकारेको हो । ठेकेदारले २०८१ कातिक १० गते काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ गते सम्झौता गरेको छ । अघिल्लो ठेकेदारले पुलको पिलरको काम सकेको छ । सुपर स्ट्रक्चरको काम बाँकी छ । पुल बनेको भए रौतहट र सर्लाहीका मानिसलाई आवत जावतमा सहज हुन्थ्यो । अहिले दुवै जिल्लाका मानिस डुंगा चढेर वारपार गर्छन् । वारी बतसपुर, बडहर्वा, राजदेवी लगायतका स्थानीय डुंगा चढेर पारी खेतमा काम गर्न जान्छन् ।
पुर्व प्रधानममन्त्री माधव कुमार नेपालकै पार्टीले संघमा भौतीक पुर्वाधार मन्त्रालय सम्हालेको छ भने गठबन्धनकै मधेश प्रदेशका भौतीक पुर्वाधार मन्त्री प्रष्ण प्रसाद यादव रहेका छन् । नेपाली काँग्रेसकै प्रदेश संसद नागेन्द्र यादवको नेतृत्वमा वडहर्वा पुल नबनेको भन्दै स्थानीय सडकमा आएका हुन । २०८० पुस २० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








